देश

संसदीय समितिका बैठक बस्दै, महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

काठमाडौँ। सङ्घीय संसद्का विभिन्न नौ वटा समितिका बैठक आज बस्दैछन्।

प्रतिनिधिसभाका अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग, वाणिज्य तथा श्रम, उपभोक्ता हित, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठक बस्ने कार्यसूची छ।

यस्तै, राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्नेछ। संयुक्त समितिको रूपमा रहेको संसदीय सुनुवाइ समितिको बैठक पनि आजका लागि निर्धारण गरिएको छ।

अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल हुनेछ। अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि छलफल हुनेछ।

उद्योग तथा वाणिज्य समितिमा किसानलाई अनुदानस्वरूप प्रदान गरिने रासायनिक मलको आयात तथा वितरणको कोटासम्बन्धी विषयमा छलफल हुनेछ। कृषि समितिमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषय उठ्नेछ।

पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, नवीकरणीय ऊर्जा विधेयक, सुनकोशी मरिण डाइभर्सन आयोजना लगायत विषयमा छलफल हुनेछ। शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।

सङ्घीयता सबलीकरण समितिमा स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदा र संसदीय सुनुवाइ समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसहित सिफारिस व्यक्तिहरूबारे छलफल हुनेछ।

संसदका बैठक क्रमशः असार २३ गते सोमबार र २४ गते मङ्गलबार तय भएकाले समितिहरूमा विधेयकलाई अगाडि बढाउने गरी छलफल केन्द्रित गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *