देश

राष्ट्रियसभाको बैठक आज बस्दै, अर्थमन्त्री पौडेलले विभिन्न विधेयक पेश गर्ने

काठमाडौँ। सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न ११:१५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयबारे उठेका प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।

साथै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

उनले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने छन्। त्यस्तै, भन्सार विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री पौडेलले पेश गर्ने छन्।

यसैबीच, राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *