काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न र विपद्पछि नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि बोल्दै उनले यस्तो बताएका हुन्। नेपालमा विपद्को जोखिम उच्च रहेको र अहिले मनसुनको प्रारम्भिक चरणमा रहेको उनले बताए।
उनले नेपालमा मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको बताए। काठमाडौँ उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भए वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने सम्झौता भएको उनले जानकारी दिए।
उपत्यका बाहिर भने वायुसेवा सञ्चालकहरुले आवश्यक परेको खण्डमा अपरेशन कस्ट लिएर उद्धार गर्ने समझदारी भएको छ। खोज र उद्धारमा संलग्न हुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललाई गृह मन्त्रालयले व्यवस्थापन गर्ने छ।




