काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा सुमिरे टुर्स एण्ड ट्राभल्सका संचालक डिपी अर्यालले संसद बैठकमा नै आफूले वर्षौंदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाएको स्वीकार गरेपछि उनीमाथि छानबिनको माग उठेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरिएको निवेदनमा युवराज सफलले सांसद अर्यालको अभिव्यक्तिमा गम्भीर आपत्ति जनाउँदै मानव तस्करीमा संलग्न हुनसक्ने सम्भावनाको आधारमा अनुसन्धान गर्न आग्रह गर्दै उजुरी दिएका छन् । अर्याल रास्वपाका कार्यबाहक सभापति तथा पूर्व श्रममन्त्री समेत हुन् ।
निवेदन अनुसार, हाल नेपालमा भिजिट भिसाको नाममा व्यापक अनियमितता र मानव तस्करी भइरहेको, अध्यागमन कार्यालयमा सेटिङ मिलाएर नागरिकलाई विदेश पठाउने काम भइरहेको भन्दै त्यसै सन्दर्भमा सुमिरे टुर्स एण्ड ट्राभल्सको भूमिका प्रश्नवाचक रहेको बताइएको छ। सफलले उक्त कम्पनीले हालसम्म कति व्यक्तिलाई कसरी, के कस्ता कागजात प्रयोग गरेर जापान पठायो? तीमध्ये कति फर्किए? भन्ने विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। साथै, सार्वजनिक अभिव्यक्तिमा आधारित रहेर अर्यालसहित कम्पनीका अन्य संचालकहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ। हालसम्म त्रिभुवन विमानस्थल हुँदै विदेश जाने भिजिट भिसा यात्रुहरूबारे विभिन्न शंकास्पद गतिविधिहरू सार्वजनिक भइरहेका बेला उठाइएको यो मागले राजनीतिक र प्रशासनिक तहमा नयाँ बहस सुरु गराएको छ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौँ रुपैयाँ लिएर बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका थिए । गत शनिबार संघीय संसदको प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले यस्तो माग गरेका हुन । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भइरहेको बताएका थिए । उनले भनेका थिए, ‘आफ्ना कुरा राख्ने, अरू माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसद्मा जारी छ, यसलाई अन्त्य गर्न अनुरोध गर्न चाहन्छु। सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स होरु विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा लिएर संसद्मा प्रतिनिधित्व गर्ने, र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ। तिनै मान्छेहरू यदाकदा संसद्मा आएर उफ्रिने काम भएको छ। यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस्।’
यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपा कार्यवाहक सभापति डोलप्रसाद (डीपी)अर्याल र सांसद खतिवडाबीच भिजिट भिसा प्रकरणलाई लिएर तीव्र नोकझोक भएको थियो । अर्यालले नेपाली कांग्रेस सांसद खतिवडाको कुरा स्वीकार गर्दै सो ट्राभल्स आफ्नै भएको र आफूले विगत लामो समयदेखि भिजिट भिषामा नेपालीहरुलाई पठाएको समेत स्वीकारेका थिए । सो प्रकरणले अहिले रास्वपाभित्र आन्तरिक द्वन्द्व चर्किएको छ ।
गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थल तथा अध्यागमन कार्यालयमा रहेर गैरकानुनी कार्य गर्नेहरुमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दै आएको थियो । सरकारले रास्वपाको मागबमोजिम सत्ता तथा प्रतिपक्षबिच भएको दुई बँदे सहमतिका आधारमा सो प्रकरणमा अनुसन्धानका लागि अनुसन्धान समिति गठन गरिसकेको छ । तर रास्वपा सांसदहरु सरकारभन्दा ठूलो भन्दै अझै संसदमा नाराबाजी गर्दै अराजक गतिविधिमा केन्द्रित भएपछि कांग्रेस सांसद खतिवडाले डिपी अर्याल मालिक भएको सो ट्राभल्स कम्पनीबारे आपत्ति जनाउँदै छानबिन गर्न सरकारसँग माग गरेका थिए ।





