काठमाडौं । शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः फर्किने घोषणा गरेपछि नेकपा एमालेभित्र थलिएको नेतृत्व बहसले नयाँ मोड लिएको छ।
मदन जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले लेखित वक्तव्यमार्फत भनिन्, “राजनीतिक कार्यभार अझै बाँकी छ, सामाजिक रूपान्तरणको लक्ष्य अपूरो नै छ।” राष्ट्रपतिको जिम्मेवारीपछि दुई वर्ष जनताको भावना बुझ्न खर्चिएको उल्लेख गर्दै उनले अब आफू सक्रिय राजनीतिमा फर्किन बाध्य भएको बताइन्।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूको उपस्थिति थियो। ओली कार्यक्रमपछि स्पेन प्रस्थान गरे पनि संक्षिप्त सम्बोधन गर्दै भने, “यहाँ केही पड्किनेवाला छैन, एमाले एकढिक्का भएर अघि बढ्छ।”
तर, ओली प्रस्थानपछि मञ्च सम्हालेका पोखरेलले भण्डारीको सक्रियता स्वाभाविक भएको उल्लेख गर्दै भने, “नेतृत्वको बहस अहिलेको उपयुक्त समय हो। जबज अझै अधुरो छ, त्यो पूरा गर्न बहस र मार्गदर्शन आवश्यक छ।” उनले पार्टीभित्र असन्तुष्टि बढ्दै गएको भन्दै चेतावनी पनि दिए, “लोकतन्त्रलाई सही ढंगले नलाने हो भने विस्फोट हुन सक्छ।”
ओलीपछिको पुस्ता र नेतृत्व हस्तान्तरणबारे मौन रहेका ओलीका बीच भण्डारीको पुनः सक्रियताले एमालेभित्रको शक्ति सन्तुलन हल्लिएको देखिएको छ।
अब भदौ २० मा हुने नीति महाधिवेशन नै निर्णायक बन्नेछ—एमालेको भावी नेतृत्व ओली, भण्डारी वा नयाँ अनुहारमा जाने? वा पार्टी एकढिक्का रहन्छ कि गुटीय ध्रुवीकरणले चिरा पार्ने?—जवाफ महाधिवेशनमै भेटिनेछ।




