काठमाडौँ। नेकपा (एस) की नेतृ रामकुमारी झाँक्रीले पार्टी नेतृत्वप्रति कडा असन्तोष व्यक्त गर्दै ‘अर्ली महाधिवेशन’को माग गरेकी छिन्।
लुम्बिनी प्रदेशमा आयोजित नेकपा एस सम्बद्ध युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै झाँक्रीले पार्टी नेतृत्वमा गम्भीर संकट आएको उल्लेख गर्दै समयमै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखिन्।
“पार्टीमा अध्यक्षकै बारेमा संकट आयो, कानुनी र संवैधानिक हिसाबले समस्या छ,” उनले भनिन्, “अब काँधमा मरेको सिनो राखेर हिँड्न सकिँदैन। पार्टीलाई पुनर्गठन गर्न अर्ली महाधिवेशन आवश्यक छ।”
उनले अहिलेको केन्द्रीय समिति र मतदाता नामावलीप्रति समेत प्रश्न उठाउँदै नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइन्। “हामी सुध्रिने हो भने डिपार्चर गर्नुपर्छ,” उनले भनिन्, “हलमै नेतृत्व छानौँ, तपाईंहरूमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्नुहुन्छ।”
झाँक्रीले पार्टीको गम्भीर संकटबाट बाहिर निस्कन नयाँ सोच र नेतृत्वको खाँचो औंल्याउँदै पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउनु आवश्यक रहेको बताइन्।




