काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने तयारीमा रहेको स्पष्ट पारेका छन्। उनले पार्टीको कार्यकारिणी समितिको निर्णयअनुसार संसदीय दलको बैठक बसेर समर्थन फिर्ताको औपचारिक प्रक्रिया अघि बढाइने बताएका छन्।
यादवले सरकार बनेको एक वर्ष बितिसक्दा पनि सुशासन, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधारजस्ता प्रमुख प्रतिबद्धता पूरा हुन नसकेको आरोप लगाए। उनले दुई ठूला पार्टी मिलेर बनाइएको गठबन्धन सरकारले जनअपेक्षा अनुसारको काम नगरेको टिप्पणी गरे।
यादवले अब प्रतिपक्षमा बसे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुनै सहकार्य नहुने स्पष्ट पारे। प्रचण्डद्वारा समाजवादी मोर्चा पुनः सक्रिय बनाउने प्रयासबारे उनले भने, “अब हामी आफ्नै बाटो हिँड्छौं, प्रचण्डसँग सहकार्य हुँदैन।” यसैबीच, मंगलबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता गर्न संसदीय दललाई निर्देशन दिएको छ। संसदीय दलको औपचारिक निर्णयपछि समर्थन फिर्ता हुनेछ।
जसपाले समर्थन फिर्ता गरेमा राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्नेछ, जहाँ ५९ सदस्यमध्ये सरकार पक्षका सांसद संख्या २७ मात्र छन्। यस्तो अवस्थामा सत्ताको समीकरणमा फेरबदलको संकेत देखिन थालेको छ।




