काठमाडौं । विशेष अदालतमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ।
न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बयान सम्पन्न भएको हो।
अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अब केहीबेरमै थुनछेक बहस सुरू हुने छ।उनले भने, “पूर्वप्रधानमन्त्री नेपालको बयान सकिएको छ। अब केहीबेरमा थुनछेक बहस सुरू हुन्छ।“
थुनछेक बहसपछि अदालतले नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउने कि बाहिर राखेर मुद्दा लड्न दिने भन्नेबारे निर्णय गर्नेछ।पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पक्षमा बहस गर्न हालसम्म करिब १५० जना कानुन व्यवसायीले नाम टिपाएका छन्।
बुधबार विशेष अदालतमा हाजिर भएका नेपालको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीसहित विभिन्न अधिवक्ताहरूले बहस गर्ने तयारी गरेका हुन्। नाम टिपाउने संख्या अझै बढ्दै गएको छ।
तर, समय अभावका कारण थोरै संख्यामा मात्र अधिवक्ताले बहस गर्ने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ। बहसपछि थुनछेक सम्बन्धी आदेश जारी गरिने छ।
प्रकरणको पृष्ठभूमि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहितविरुद्ध १८ करोड रुपैयाँ बिगो मागदाबी सहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
यसअघि ०६९ सालमा अख्तियारले पाँच वर्षभित्र क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी मामिलालाई नियमित अनुगमन गर्न काभ्रे मालपोत कार्यालयलाई निर्देशन दिएको थियो।
तर, करिब १३ वर्षपछि मात्रै अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो।




