राजनीति

मन्त्रिपरिषद् पुनर्विचार गर्न एमाले सांसद थापाको प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं । संघीय संसदको बजेट छलफलमा आइतबार नेकपा (एमाले) का सांसद सूर्य थापाले सत्ता साझेदार दल नेपाली कांग्रेस र विशेषतः सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति कडा असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न आग्रह गरेका छन्। थापाले संसदको रोष्ट्रमबाट बोले, को–को मन्त्री छन् भनेर थाहा राखेर काम गर्नुपर्छ, होइन भने प्रधानमन्त्रीज्यूले आफ्नो टिमको पुनर्मूल्यांकन गर्नुपर्छ। उनले मन्त्रीहरू जनमुखी र उत्तरदायी नबनेको भन्दै अर्को वर्षसम्म हालका अधिकांश मन्त्रीहरू नरहने समेत संकेत गरे।

सहकारी गठबन्धनभित्रको असहजतालाई सार्वजनिक गर्दै थापाले बजेटको बाँडफाँटमा कांग्रेसले पक्षपात गरेको आरोप लगाए। जय नेपाल भनेपछि बजेट बन्छ? बजेट वितरण कार्यकर्ताको नारा र पहुँचको भरमा गर्ने ? भन्दै उनले कटाक्ष गरे।

सांसद थापाले सहरी विकास मन्त्रालयको कामप्रति असन्तुष्टि जनाउँदै यो मन्त्रालय लथालिंग छ, जनताको पक्षमा होइन, राजनीतिक पहुँचमा बजेट बितरित भइरहेको छ, भने। प्रकाशमान सिंहमाथि कडा व्यंग्य गर्दै थापाले भने, उहाँ गणेशमानको छोरा हो भन्ने साथीहरूले भन्नुभयो, तर व्यवहार हेर्दा पिताको निष्ठा र मूल्यबोध झल्किँदैन।’

थापाले बजेटको प्राथमिकता टुक्रे योजनामा नजानुपर्ने प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलको भनाइलाई कांग्रेसले बेवास्ता गरेको आरोप लगाए। सांसद थापाको टिप्पणी सत्तागठबन्धनभित्र बढ्दो असहजता, आन्तरिक शक्ति सन्तुलनको तनाव र ‘कार्यप्रदर्शनको मूल्यांकन’ बहस चुलिँदै गएको संकेत हो। अब ओली नेतृत्वले यो सन्देशलाई राजनीतिक सल्लाहको रूपमा लिन्छ कि दबाबका रूपमा भन्ने राजनीतिक वृत्तको चासोको विषय बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *