देश

संसदमा सूर्य थापाको रास्वपाप्रति व्यंग्यात्मक आपत्ति, संसदमा कुर्सी रोइरहेका छन,तपाँइहरु किन भुँईमा बस्नुभएको ?

काठमाडौं । संघीय संसदको बजेट सम्बन्धी बैठकमा सोमबार माओवादी केन्द्रका सांसद शक्ति बस्नेत आफ्नो धारणा प्रस्तुत गर्दै गर्दा एमाले सांसद सूर्यबहादुर थापाले नियमापत्ति जनाउँदै तीव्र व्यंग्य गरेका छन्। उनले संसदीय मर्यादा, बैठकको गरिमा र सांसदहरूको बसाईप्रति प्रश्न उठाउँदै वातावरणको स्तरप्रति असन्तुष्टि जनाए।

थापाले भने, “हामी रत्नपार्कमा छौँ कि शहीदगेटमा ?कलंकीमा कि चिप्लेढुंगामा? यस्तो माहोल संसदको होइन जस्तो लागिरहेको छ।”
उनको संकेत रास्वपाका सांसदहरूको विरोध शैलीतर्फ थियो, जो नियमित रूपमा बैठक अवरुद्ध गर्दै प्लेकार्डसहित पल्टिँदै बस्ने गरेका छन्।

‘कुर्सीको रोईरहेको अवस्था’ र थापाको व्यंग्य
थापाले संसद् भित्र सांसदहरू भुइँमा बसेको दृश्यप्रति कटाक्ष गर्दै भने, “कुर्सीहरू रोइरहेका छन्, हामीले कस्तो मर्यादा पालना गर्नुपर्छ भन्ने विषयमा गम्भीर छलफल हुनुपर्छ।” उनको टिप्पणीपछि सभामुख देवराज घिमिरेले विषयप्रति ध्यानाकर्षण भएको जनाउँदै शक्ति बस्नेतलाई आफ्ना कुरा राख्न अनुमति दिए। बस्नेतले बजेट कार्यान्वयनको चुनौतीबारे धारणा राख्दै मन्तव्य जारी राखे।

बैठकमा रास्वपाका सांसदहरूले गृह मन्त्रालयको भिजिट भिसा प्रकरणका कारण नाराबाजी जारी राखे। बजेटमाथिको बहस चलिरहँदा उनीहरूले प्लेकार्डसहित बेल घेर्ने, भुइँमा बस्ने र नारा लगाउने कार्य दोहोर्‍याए। यद्यपि, संसदमा कुर्सीको कुनै अभाव नभएको स्पष्ट भएपछि कतिपयले रास्वपाको व्यवहारलाई “गैरजिम्मेवारी प्रदर्शन” भनी व्याख्या गरेका छन्।

सभामुख घिमिरेले थापाको आपत्ति सुनेपछि बैठकको मर्यादा कायम गर्न आग्रह गर्दै बैठक सञ्चालनलाई निरन्तरता दिए। उनले सबै पक्षलाई मर्यादित ढंगले धारणा राख्न अनुरोध गर्दै संसदीय प्रक्रियालाई नबाधिन अपिल गरेका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *