राजनीति

एमाले सचिव योगेश भट्टराईको कटाक्ष – सभामुखमाथि आक्षेप लगाउनेले पहिले ऐनामा अनुहार हेर्नुहोस्

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभाका सभामुखमाथि टिप्पणी गर्नेहरूलाई आत्मपरीक्षण गर्न सुझाव दिएका छन्। उनले विगतका संसदीय अभ्यासहरू स्मरण गराउँदै सभामुखमाथिको आक्षेपलाई ‘राजनीतिक सुविधाभोगी दृष्टिकोण’ को रूपमा व्याख्या गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद अवरुद्ध गरिरहेका बेला सामाजिक सञ्जालमार्फत भट्टराईले तीव्र टिप्पणी गर्दै लेखेका छन्, “वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मिडिया वा महानुभावले पहिलेका सभामुखबारे के लेखिएको थियोरु के बोलिएको थियोरु एक पटक ऐनामा अनुहार हेर्ने कि?”

संसदमा नाराबाजी भइरहेको परिस्थितिमा भट्टराईले स्मरण गराए कि संसद् अवरुद्ध गर्नु कुनै नयाँ कुरा होइन। उनले विगतका सभामुखहरूको पालामा पनि विभिन्न दलहरूले नाराबाजीका बीच संसद् सञ्चालन गरेको प्रसंग उठाएका छन्। “नारा लाग्नेबित्तिकै संसद् चल्नु राम्रो होइन, तर यो पहिलोपटक होइन,” भट्टराईले भने।

संसदीय प्रक्रियामा सहमति र संवाद अपरिहार्य भएको उल्लेख गर्दै भट्टराईले सबै दललाई छलफलमा बस्न आह्वान गरे। उनले प्रश्न गरेका छन्, “कस्ता विषयमा बैठक अवरुद्ध गर्नेरु सबैको सहमति कसरी बनाउनेरु बहुलवादी समाजमा हरेक विषयमा सर्वसम्मति कसरी सम्भवरु” उनले बहुमत र अल्पमतको अभ्यासलाई स्वाभाविक प्रक्रिया मान्दै सबैलाई संसदलाई सर्वस्वीकार्य बनाउने दिशामा लाग्न आग्रह गरे।

भट्टराईले सभामुखमाथि निरन्तर उठिरहेका प्रश्नहरूमा आत्मनिरीक्षणको खाँचो औंल्याउँदै लेखेका छन्, “दोषी सभामुख हुन् कि हाम्रो आफ्नै इगो?” उनको यो टिप्पणी संसदको वातावरणलाई संवादमैत्री बनाउने संकेतसँगै, अवरोधकारी राजनीति प्रति आलोचनात्मक दृष्टिकोणको प्रतिविम्ब पनि हो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *