राजनीति

नयाँ भनिएको रास्वपा संसदमा सँधै अराजक बन्ने ?

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा अवरुद्ध गरेपछि संसद्‌मा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूसँग लगातार छलफल थालेका छन्। सभामुख घिमिरेले रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै भेटवार्ता गरी संवैधानिक बाध्यताका कारण संसद् सञ्चालन आवश्यक रहेको तर्क राख्दै अवरोधको स्वरूप परिवर्तन गर्न सुझाव दिएका छन्। यद्यपि रास्वपाले माग सुनुवाइ नभएसम्म अवरोध जारी रहने स्पष्ट पारेको छ।

यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद सञ्चालनका लागि एमालेसँग दुई बुँदे सहमति गरिएको र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको प्रस्ताव अघि बढाइएको बताएका छन्। संसद्‌लाई अवरुद्ध नगरी कानुनी प्रक्रिया र नीति निर्माणका कामलाई अघि बढाउनु आवश्यक रहेको प्रचण्डको भनाइ छ। एक महिनाभित्र छानबिन समिति लगभग एक महिनाभित्र बन्ने उनले बताए । गृहमन्त्री लेखकले संसद्मै आफ्नो धारणा राख्दै आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको स्पष्ट पार्दै भने, “मैले सुरु नगरेको प्रणालीमा अहिले ममाथि आरोप लगाइयो, जुन नियोजित ढंगले मेरो चरित्र हत्या गर्ने प्रयास हो।” उनले त्रिभुवन विमानस्थलमा अध्यागमन कर्मचारीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै, सबै प्रकारका गैरकानुनी गतिविधिमाथि निष्पक्ष अनुसन्धान हुने बताए।

गृहमन्त्रीले २०६४ सालदेखि भिजिट भिसा प्रणाली लागू भइसकेको स्मरण गराउँदै, आफूले वैदेशिक रोजगार ऐनको प्रारूप बनाएको र सधैं कानुनको पालना गर्दै आएको इतिहास प्रस्तुत गरे। उनले भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धानलाई प्रभावित हुने क्रियाकलाप रोक्न आग्रह गरे।

सभामुखको प्रयासपछि संसद् आंशिक रूपमा सुचारु भए पनि रास्वपा र राप्रपा अझै संसदीय छानबिन समितिको मागमा अडिग छन्। संसद्मा असहमति र विमति जनाउने अधिकारलाई सम्मान गर्दै पनि संसदलाई सडकजस्तो व्यवहार गर्ने प्रवृत्तिले लोकतान्त्रिक प्रक्रियामा बाधा पुर्याउने भन्दै बहस व्यापक बन्दै गएको छ। अब संसद्को मर्यादा जोगाउँदै निष्पक्ष छानबिन र संवादमार्फत गतिरोध अन्त्यतर्फको बाटो खोजिनु आवश्यक देखिन्छ।

संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधकाबीच प्रतिनिधिसभाको कारवाही अघि बढेको छ । सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएका थिए । घिमिरे बोल्न थालेपछि रास्वपाका सांसदले रोष्टम अगाडि पुगेर नाराबाजी गरे ।

यसअघि संभामुख देवराज घिमिरे र प्रतिपक्ष दलका प्रमूख नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत विभिन्न राजनीतिक दलका प्रमूख सचेतकहरुले रास्वपालाई दुई बुँदे अनुसार सरकार अघि बढिसकेकाले सोही अनुसार अघि बढ्न आग्रह गरेका थिए । तर रास्वपाको स्वभाव र क्रियाकलाप भने सडकमा नाराबाजी गर्दै हिँड्ने एक झ्ुण्ड जस्तो देखिएको छ । रास्वपाले सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछानेको विषय र राजनैतिक प्रतिशोधले संसद अवरुद्द गर्दै आएका छन् ।

यस्तै राप्रपाले पनि राजावादी आन्दोनका क्रममा हिंशात्मक आन्दोलनमा संलग्न भएका आफ्ना सांसदहरुमाथि कारबाही गरेको भन्दै सरकारसँग राजनीतिक प्रतिसोध लिने रणनीतिका  साथ सांसद संसदमा केटाकेटी शैलीमा लागि परेका छन् ।

यसले राप्रपाको नैतिकतामाथि नै प्रश्न खडा गरेको छ । अहिले गत चैत्र १५ गते काठमाडौंँको तीनकुने क्षेत्रमा भएको राजावादीको हिंशात्मक आन्दोलनमा संलग्न भएकामाथि मुद्धा चलेका राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा फरार छन् । तर उनीहरुसँग राप्रपाको निरन्तर फोन संवाद भएको स्रोतको दाबी छ । तर राप्रपाले सो विषय केही छैन भन्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *