राजनीति

संसद् फेरि निष्क्रिय : हल्ला, अवरोध र आरोपकै घेरामा आइतबारको बैठक पनि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न नसकी नाराबाजी र अवरोधमै सीमित रह्यो। दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई पटक स्थगित भई अन्ततः साँझ साढे ६ बजे मात्र सुरु भयो, तर केही मिनेटभित्रै स्थगित गरियो।

बैठक सुरु भएपछि विपक्षी सांसदहरूले उठेर गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विरोध जनाए। सत्तापक्षका सांसदहरू पनि बोल्ने अवसर नपाएको भन्दै उभिएपछि सदन नै हल्लायुक्त वातावरणमा फस्यो। सभामुख देवराज घिमिरेले यस्तो परिस्थितिमा बैठक सञ्चालन असम्भव भन्दै सोमबार दिउँसो २ बजेका लागि बैठक स्थगित गरे।

गृहमन्त्रीमाथि उठेको भिजिट भिसा प्रकरणले संसद्लाई गतिशील हुन नदिएको यो लगातार आठौं दिन हो। विपक्षी दलहरू लेखकमाथि छानबिन र राजीनामाको मागमा अडिग छन्। यता कांग्रेसले माओवादी र रास्वपाको सुझावमा मध्यमार्गी प्रस्ताव अघि सारेको छ – अख्तियारले अनुसन्धान गरेपछि समिति गठन गर्ने र २०६४ साल यता भिजिट भिसाको नाममा भएको सम्भावित अनियमितता छानबिन गर्ने। कांग्रेसका नेताहरू एमालेसँग छलफलमा जुटिरहेका छन्, तर हालसम्म ठोस सहमति हुन सकेको छैन। बैठक चलाउन आवश्यक राजनीतिक सहमति अझै टाढा देखिन्छ।

लगातारको अवरोध र हल्लामात्रै भइरहँदा संसद् कार्यवाही निरन्तर प्रभावित हुँदै गएको छ। न विधेयक पारित हुन्छन्, न नीति निर्माण अघि बढ्छ। भिजिट भिसा प्रकरणको समाधानभन्दा पहिले संसद् सुचारु हुने सम्भावना कमजोर देखिन्छ, र यसले सत्तापक्ष–विपक्ष दुवैको जवाफदेहिता र राजनीतिक इच्छाशक्तिमा गम्भीर प्रश्न उठाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *