काठमाडौं । हिन्दुराज्य र राजसंस्थाको पुनर्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन समिति’ को आन्दोलन क्रमशः दिशाविहीन र अराजक बन्दै गएको देखिन्छ। आन्दोलनको दोस्रो चरणको रणनीति तय गर्न बुधबार बसेको बैठक स्वयं आन्तरिक कलह र अव्यवस्थाले स्थगित हुन पुगेको छ। बैठकमा कार्यकर्ताहरूको नाराबाजी र नेताविरुद्धको असन्तुष्टिपछि कुनै ठोस निर्णय विना बैठक टुंगिएको हो।
राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दै गर्दा ‘राजेन्द्र लिङ्देन खोई?’ भन्ने नाराले बैठक हंगामामा परिणत भयो। माइक खोस्ने र हुलहुज्जतका दृश्य सार्वजनिक हुँदा आन्दोलन भित्रको समन्वय अभाव र नेतृत्व संकट सतहमा देखिएको छ। संयोजक नवराज सुवेदीले ‘कार्यक्रम पछि सार्वजनिक गरिने’ भन्दै बैठक स्थगित गरे पनि त्यो स्वयं एक प्रकारको रणनीतिक असफलता हो। गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक झडप यस आन्दोलनको निर्णायक मोड बनेको थियो। प्रहरीले आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन बल प्रयोग गर्दा स्थिति बेकाबु भएको थियो। यस झडपमा संलग्न भनिएका लगभग ६५ जना विरुद्ध मुद्दा दायर गरिएको छ, जसमा धेरैजसो सर्वसाधारण थिए—जसले केवल उपस्थितिको हिम्मत देखाए मात्र।
तीमध्ये केहीलाई अपराध र गम्भीर उपद्रवको आरोपमा अझै थुनामा राखिएको छ। उनीहरूका परिवारमा आर्थिक संकट, सामाजिक तिरस्कार र मानसिक तनाव छ। राजावादी आन्दोलन र सहभागिताले आफुहरुले जेलको सिकार हुनुपरेको अनुभवले मनोवैज्ञानिक सन्त्रास निम्त्याएको छ। आन्दोलनमा गएका सामान्य नागरिकले जेल काट्नुपर्छ भन्ने डर अहिले कार्यकर्ता तहमा गहिरिँदै गएको छ।
राजावादी आन्दोलनको मुख्य चुनौती अहिले संगठनभन्दा मनोविज्ञानमा छ। नेतृत्वमा आपसी द्वन्द्व, कार्यक्रमहरूमा रणनीतिक अस्पष्टता, र कार्यकर्तामाझ असुरक्षा भावनाले आन्दोलनको ऊर्जा क्रमशः खस्कँदैछ। जसले गर्दा ‘संघर्षको लहर’ अब ‘उल्झिएको बहस’ मा सीमित बन्दै गएको छ। विश्लेषकहरू भन्छन्, “नेतृत्वले कार्यकर्तालाई संरक्षण दिने आत्मविश्वास दिन सकेन भने कुनै पनि आन्दोलन बलियो बन्न सक्दैन। अहिलेको समस्या भनेको कठोर आन्दोलनको घोषणा गरिने तर कार्यकर्ताको सुरक्षा को योजना नबनाइनु हो।”
राजावादी आन्दोलनको दोस्रो चरण सुरु हुनुअघि नै आन्तरिक असन्तोष, नेतृत्व संकट र कार्यकर्तामा फैलिएको डरले आन्दोलनको प्रभावकारिता कमजोर बनाएको छ। तर राजावादीको अभियान बोकेर हिँडेका राप्रपा नेपाल र राप्रपाका अध्यक्ष बलियो प्रदर्शन भएको दाबी गरेपनि त्यो संविधानविरोधी र लोकतन्त्र तथा गणतन्त्रविरोधी भएका कारण सो अभियानमा जाने मनसाय नभएको उनीहरुको भनाइ छ । सरकारले राजावादीको आन्दोलनमा सहभागि नहुन आग्रह समेत गरेको छ । सरकार राजसंस्था पुनः स्थापनाको पक्षमा नभएकाले नेता तथा कार्यकर्ताहरुलाई सो आन्दोलनमा नजान आग्रह गर्दै सो घटनामा भएको क्षेतीपूति र सुरक्षाको जिम्मेवारी स्वयम हुनुपर्ने बताइसकेको छ । राजावादी आन्दोलनमा राप्रपा र राप्रपा नेपालले विद्यार्थीदेखि नाबालक तथा नाबालिकालाई समेत प्रयोग गर्दै आएको छ ।




