राजनीति

राजावादी आइलागे, इँटको जवाफ पत्थरले दिनेगरी तयार रहन वाईसीएल नेपाललाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजसंस्था पक्षधरको आन्दोलन चर्किंदै गएको पृष्ठभूमिमा वाईसीएल नेपाललाई प्रतिकारका लागि तयार रहन स्पष्ट निर्देशन दिएका छन्।

आइतबार काठमाडौंमा सम्पन्न वाईसीएल नेपालको तेस्रो सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले ूराजावादीहरू छाडा बनेर आक्रमण गर्ने कोसिस गर्दैछन्, यदि उनीहरू आइलागे, इँटको जवाफ पत्थरले दिन तयार हुनुपर्छू भन्ने सन्देश दिए।

उनले वाईसीएललाई प्रश्न गर्दै भने, “आफूमाथि आइलाग्नेमाथि जाइ नलाग्ने हो भने कसरी वाईसीएल भयौं? कसरी क्रान्तिकारी भयौं ?” प्रचण्डको भनाइमा, अब आन्दोलन केवल वैचारिक नभई, आवश्यकता पर्दा सडकबाटै प्रतिवाद गर्ने अवस्थामा प्रवेश गरेको छ।

प्रचण्डले राजावादीहरू विदेशी प्रभाव, पैसाको भर, र उकासिएको भिडमार्फत अराजकता फैलाउने कोशिस गरिरहेको आरोप लगाए। “पैसाको बलमा मान्छे भाडामा ल्याउने, जाँड खुवाउने, उफार्ने—यी सबै दृश्य हामीले देखेका छौं,” भन्दै उनले राजसंस्था पक्षधरको गतिविधिलाई गम्भीर चुनौतीको रूपमा व्याख्या गरे।

शनिबार नुवाकोटमा आफू सहभागी कार्यक्रमको प्रसंग सुनाउँदै प्रचण्डले भने, “त्यहाँ एक जना राजावादीले अराजक प्रश्न गरे, स्थानीय जनताले उसलाई जीवनभर सम्झिने गरी प्रतिवाद गरे।” उनले त्यसलाई उदाहरण दिँदै सबैलाई सजग र प्रतिकार गर्न तयार रहन आग्रह गरे।

प्रचण्डको यो भनाइसँगै राजावादी आन्दोलन र वामपन्थी शक्तिबीच टकरावको सम्भावना झनै तीव्र बन्दै गएको छ। उनले प्रत्यक्ष रूपमा झडपको चाहना नभएको संकेत दिए पनि, यदि आक्रमण भयो भने चुप लाग्ने अवस्था नरहने सन्देश प्रस्ट दिएका छन्। राजनीतिक रूपमा चुलिंदो यो अवस्थामा, सत्तारूढ गठबन्धन र सुरक्षा संयन्त्रको संयमता अब झनै महत्वपूर्ण बन्ने देखिन्छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *