काठमाडौं । राजधानी काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै चर्किएको आन्दोलन थप आक्रामक बन्दै गएको छ। नारायणचौरमा आज भएको प्रदर्शनमा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ८ जनालाई पक्राउ गरेपछि स्थिति झन् तातिएको छ। झडपपछिको अवस्था झन् गम्भीर बन्दै गइरहेका बेला राज्य, सुरक्षा निकाय र प्रमुख दलहरू तीनकुने जस्तै दुर्घटना नदोहरियोस् भन्नेमा सतर्क छन्। निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् । शान्ति सुरक्षा कायम गर्न नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । उनीहरूलाई छोड्ने कि हिरासतमै राख्नेबारे हालसम्म कुनै आदेश र योजना नरहेको उनले बताए । थापालाई रिहा गर्न सरकारसँग माग गर्दै राजावादीहरूले धर्ना सुरु गरेका छन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपा अध्यक्ष कमल थापाले सरकारलाई धम्कीपूर्ण अभिव्यक्ति दिएका छन् ।अध्यक्ष राजेन्द्र लिङ्देनले “अब एक ठाउँमा होइन, देशभरबाट ५० ठाउँबाट आन्दोलन हुनेछ” भन्दै भोलिदेखि सरकारसँग लडाईँ गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिए । उनले गणतन्त्रलाई लुटतन्त्रको संज्ञा दिँदै देशव्यापी ‘परिवारसहित सडकमा उत्रने’ चेतावनी दिए। तर अध्यक्ष लिङदेनले भने जस्तो सबै जनता सडकमा आउदैनन्, अहिले राजावादी आन्दोलनमा सहभागी भएकाहरुलाई भाडामा बोलाइएको स्रोतको दाबी छ । स्रोतका अनुसार राजावादीले प्रदर्शनमा देशका विभिन्न ठाउँबाट काठमाडौं आउनेलाई गाडी भाडा र आन्दोलनमा सहभागि भए अनुसार श्रम भाडा समेत दिने गरेको छ । केही दिनअघि राप्रपा अध्यक्ष लिङदेन आन्दोलनमा सहभागी हुन जनतालाई पत्र बाढ्दै काठमाडौँ उपत्यकाभरि पर्चा बाँड्दै हिँडेका थिए ।
गत चैत १५ गते तीनकुनेमा भएको झडप अझै जनमानसमा ताजा छ। राजावादी समूह र सुरक्षाकर्मीबीचको त्यो भिडन्तले राजनीतिक रूपमा संवेदनशील मोड लिएको थियो। एक पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो भने करोडौँको नीजि तथा सार्वजनिकमाथि समेत आगजनि भएको थियो । अहिलेको अवस्था पनि त्यही झैं तनावग्रस्त बन्दै जाँदा सुरक्षा संयन्त्र थप सतर्क बनेको छ।
लोकतान्त्रिक दलहरूको एकता र चेतावनी
राजसंस्थाको पक्षमा भइरहेको गतिविधिको तीव्र प्रतिक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउने कुरा हास्यास्पद भएको बताउँदै “अब सुशासन र विकासतर्फ अघि बढ्ने समय हो” भनेका छन्। उनले राजावादीको आन्दोलनलाई ‘डाइनोसरको कल्पना’ भन्दै व्यंग्य गरेका छन्।
माओवादी अध्यक्ष प्रचण्डले भने, “गणतन्त्रको विकल्प सोच्नु नै प्रतिगमन हो, हामी सबै दल एकजुट भएर यसविरुद्ध खबरदारी गर्न तयार छौं।” यस्तै, नेपाली कांग्रेसका नेताहरूले संविधानको रक्षा लोकतान्त्रिक शक्तिहरूको साझा जिम्मेवारी भएको भन्दै एकताको आह्वान गरेका छन्।
विश्व हिन्दु महासंघको स्पष्ट सन्देश
राजसंस्था समर्थक भए पनि विश्व हिन्दु महासंघले अराजक गतिविधिको विरोध गर्दै शान्तिपूर्ण र वैचारिक संघर्षमै सीमित रहन आग्रह गरेको छ। उनीहरूले चेतावनी दिएका छन् कि अराजक शैली जारी रहे राजावादी अभियानको नैतिक समर्थन गुम्न सक्छ।
दीप प्रज्वलन कार्यक्रम स्थानान्तरण
राजावादी आन्दोलनको पृष्ठभूमिमा पूर्वराजपरिवारले दरबार हत्याकाण्डमा दिवंगत सदस्यहरूको सम्झनामा गर्ने भनिएको दीप प्रज्वलन कार्यक्रम पनि विवादमा तानिएको छ। सुरुमा नारायणहिटी दरबारभित्र गर्ने भनिएको कार्यक्रम कमलादी गणेश मन्दिरमा सारिएको छ।
हिमानी ट्रस्टका अनुसार शुद्ध श्रद्धाञ्जली स्वरूप राखिएको कार्यक्रममा कुनै राजनीतिक उद्देश्य नभएको भए पनि, प्रशासनले अनुमति नदिएपछि स्थान परिवर्तन गरिएको हो। प्रमुख जिल्ला अधिकारीले चिठी नै नबुझेको ट्रस्टको भनाइ छ ।
कार्यक्रममा पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयन्द्रसहित राजधानीमा रहेका अधिकांश राजपरिवारका सदस्यहरू सहभागी हुनेछन्। पूर्वराजा ज्ञानेन्द्र र कोमल भने झापामा भएकाले अनुपस्थित रहने बताइएको छ।
राजसंस्था पक्षधरहरूको आन्दोलन, सशक्त प्रतिक्रिया र पूर्वराजपरिवारको गतिविधिले नेपालको राजनीतिक तापक्रम चुलिएको छ। राज्य संयमता र लोकतान्त्रिक एकताले यो तनाव साम्य पार्न सक्ने संकेत देखिएको छ, तर यदि स्थिति नसम्हालिए पुनः तीनकुनेको जस्तो अप्रिय दृश्य दोहोरिन सक्छ।




