काठमाडौं । चर्चित ‘राजपुर बम विस्फोट’ घटनामा जेल सजायको सामना गरिरहेका कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालत वीरगञ्जले निर्दोष ठहर गर्दै सफाइ दिएको छ।
रौतहटको राजपुरमा २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो रात भएको बम विस्फोट र त्यसपछि घाइतेलाई जिउँदै जलाएर हत्या गरिएको भनिएको घटनामा आलममाथि ज्यान मार्ने, बम विस्फोट र कर्तव्य ज्यानको अभियोग लगाइएको थियो। जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। तर उच्च अदालतले ती सबै आरोपमा उनलाई सफाइ दिएको हो।
घटनामा त्रिलोकप्रताप सिंह र ओसी अख्तरसहितका घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरिएको भन्दै आलममाथि गम्भीर आरोप लागेका थिए। उनीमाथि राज्य सुरक्षा संयन्त्रको सहयोगमा शवहरू बेपत्ता पारेको आरोपसमेत लागेको थियो। आरोपहरू सार्वजनिक भएपछि सर्वोच्च अदालतको आदेशमा २०७६ सालमा आलम पक्राउ परेका थिए। तीनवटा फरक मुद्दामा अभियोग लागे पनि अदालतले पर्याप्त प्रमाण नभएको निष्कर्ष निकालेको हो।
यस मुद्दामा सरकारी पक्षबाट तीनजना वकिलले बहस गरेका थिए भने आलमका पक्षबाट नौजना कानुन व्यवसायीले बचाउ गरेका थिए। तीन दिनसम्म चलेको थुनछेक बहसपछि अदालतले आलमलाई दोषमुक्त गरेको हो। मुद्दा राजनीतिक तथा कानुनी दुवै हिसाबले निकै चासोको विषय बनेको थियो।
यस्तो छ आलमलाई सफाइ दिएको उच्चको आदेश :
मिति ०६४/१२/२७ मा बम विस्फोटको घटना भएको भनिएकोमा सो वारदात अनुसन्धानबाट पुष्टि हुन नसकेको । सो विषयमा जाहेरी गरी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरू मृत्यु भएका भन्ने यकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधिवक्ता कार्यालयबाट मिति ०६५/३/३० मा यसै कसैउपर मुद्दा नचलाउने भनी निर्णय भएको देखियो । सम्मानीत सर्वोच्च अदालतबाट उक्त मिति ०६५ ३ ३० को उक्त निर्णय बदर गरी पुनः प्रमाणित देखि प्रचलित कानुन बमोजिम गर्न गराउन मिति ०६९/२/१६ मा परमादेश जारी भइ ०७६/१२/११ मा पुन अनुसन्धान भएको देखिन्छ ।
संकलित सबुत प्रमाणबाट मोहम्मद अफताब आलमको घरमा मिति ०६४/१२/२७ मा बम विस्फोट वस्तुनिष्ट प्रमाणले पुष्टि हुन नसकेको । विष्फोटका घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रकाश सिंह र ओसी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा हाली पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनसमेत मृतकहरूलाई इट्टाभट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा सुरुले गरेको सजाय नमिलेको देखिँदा उल्टी भई सफाइ पाउनू ।