देश

राजीनामा माग्दै विपक्षीको नाराबाजी, प्रतिनिधि सभा फेरि ठप्प

काठमाडौँ। प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

करिब दुई घण्टा ढिला गरी बैठक सुरू भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक सञ्चालन हुन नसक्ने प्रतिपक्षीको अडानका कारण आज पनि नियमित कारबाहीमा अगाडि बढ्न सकेन।

सभामुख देवराज घिमिरेले पटकपटक बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्षीलाई आग्रह गरे। उनले दलीय आधारमा आफ्ना कुरा राख्न र गृहमन्त्री रमेश लेखकले समेत समय माग गरेकाले त्यसका लागि सहयोग गर्न आग्रह गरे। उनको पटकपटकको आग्रहलाई समेत विपक्षी दलले अस्वीकार गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

मङ्गलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/०८२ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको छ। सम्भावित कार्यसूचीअनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *