राजनीति

देशकाे विकासबारेमा सामाजिक सञ्जालमा फिँजाइएका हल्लाको भर नपर्न उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामाजिक सञ्जालमा फैलाइने नकारात्मक हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन्। उनले देशमा केही पनि भएन भन्ने भ्रम सिर्जना गरिएको भन्दै वास्तविकता बुझ्न र मुलुकमा भइरहेका विकासका कामलाई मूल्याङ्कन गर्न जनतालाई आग्रह गरेका हुन्।

सोमबार रसुवास्थित कालिका हिमालय माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै सिंहले सामाजिक सञ्जालमा मात्र भर पर्नु भर्चुअल संसारको आकलन मात्र हुने र वास्तविकता त्योभन्दा धेरै फरक रहेको स्पष्ट पारे। सामाजिक सञ्जाल भनेको भर्चुअल संसार हो, वास्तविक प्रगतिका लागि प्रत्यक्ष अनुभव जरूरी छ,उनले भने।

उनले सामाजिक सञ्जालमा ‘व्यवस्था फेरियो, अवस्था फेरिएन’ भन्ने नारा मात्र सुनेर विकासको वास्तविकता नबुझ्न आग्रह गरे। सिंहले विगतको तुलनामा अवस्थाहरूमा सुधार भइरहेको र विकास निर्माणका कामलाई गति दिन राजनीतिक स्थिरता आवश्यक रहेको पनि उल्लेख गरे।

ूविकासका लागि स्थायित्व र स्थिरता आवश्यक हुन्छ,सिंहले भने, अहिलेको सरकार त्यसैका लागि बनेको हो, हल्लाको पछि नलागी वास्तविकता बुझ्न जरुरी छ।

कार्यक्रममा सिंहले शिक्षामा मात्र होइन, जीवनका हरेक क्षेत्रमा प्रगति र सफलताका लागि मेहनत आवश्यक रहेको पनि जोड दिए। शिक्षा र ज्ञान आर्जन गर्न केवल इच्छा भए पुग्दैन, त्यसका लागि दृढ परिश्रम आवश्यक पर्छ, उनले थपे। कार्यक्रममा स्थानीय नेता, विद्यार्थी, अभिभावक तथा विद्यालयका शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *