राजनीति

भारत–पाकिस्तान विवादमा नेपालले संयमको सन्देश दिएको प्रधानमन्त्रीको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हालै उत्पन्न तनावलाई समाधान गर्न नेपालले शान्ति र संयमको सन्देश दिएको खुलासा गरेका छन्। सोमबार लुम्बिनीमा आयोजित २५६९औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले दुई देशलाई लडाइँतर्फ नजाने सुझाव दिएको र उनीहरूले त्यसलाई स्वीकारेको दाबी गरे।

समारोहमा प्रधानमन्त्री ओलीले भने, भर्खरै छिमेकी भारत र पाकिस्तानबीच झण्डै झण्डै हात हालाहालको स्थिति आएको थियो। हामीले शान्ति र संयम अपनाउन सुझाव दियौं। उहाँहरूले पनि त्यसलाई आत्मसात् गर्दै लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले विश्व शान्ति स्थापनामा बुद्धका सन्देशहरू अझै पनि सान्दर्भिक रहेको उल्लेख गरे। भारत–पाकिस्तानजस्ता शक्तिशाली राष्ट्रहरूबीचको द्वन्द्व समाधानका लागि बुद्धका करुणा, अहिंसा र शान्तिका विचारलाई आत्मसात् गर्नुपर्ने उनको धारणा छ। बुद्धको शान्ति सन्देश विश्वभर फैलाउन जरुरी छ। अहिलेको समयलाई थप सुरक्षित र स्थिर बनाउन बुद्धका आदर्शहरूले मार्गदर्शन गर्न सक्छ, उनले थपे।

प्रधानमन्त्रीले लुम्बिनीको गुरुयोजना छिटो सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले लुम्बिनीमा निर्माणाधीन ५ हजार क्षमताको सभा हलको ध्वनी प्रणाली सुधार गर्न निर्देशन दिए। साथै, अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाषागत उल्थाका लागि प्रविधि र जनशक्ति थप गर्न आग्रह गरे।

ूलुम्बिनीलाई विश्व शान्ति र बुद्धका विचारहरूको केन्द्रका रूपमा विकास गर्न सरकारको योजना छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध दर्शनको अनुसन्धान र विस्तारमा अझ सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता छ,ू उनले भने।

प्रधानमन्त्रीको यो अभिव्यक्तिले नेपालले क्षेत्रीय शान्तिमा महत्वपूर्ण भूमिका खेल्न तयार रहेको सन्देश दिएको छ। लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रका रूपमा स्थापित गर्ने सरकारको योजना पनि थप स्पष्ट भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *