राजनीति

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : विकासको ढाँचा र गति बदल्ने समय आएको छ

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा स्पष्ट जवाफ दिएका छन्।

आइतबार संसद्को बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको संरचना र कार्यान्वयनमा परिवर्तनको खाँचो औंल्याए। उनले विगतका विकास निर्माणका क्रममा देखिएका कमी–कमजोरीलाई सुधार गर्दै, विकासको ढाँचा, गति र संस्कृतिमा आमूल परिवर्तन गर्न आवश्यक रहेको बताए।

प्रधानमन्त्री ओलीले सरकारको निरन्तरता र उत्तराधिकारका रूपमा अघिल्लो सरकारले अघि बढाएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट पार्दै भने, अघिल्लो सरकारले सुरु गरेका कार्यक्रमलाई सुधार गर्दै लगिएका हौं। यो नयाँ समीकरणले विकासका कामलाई तीव्रता दिन अझ सघाउ पुर्‍याउनेछ।

उनले राष्ट्रिय गौरवका आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै, काम भइरहेजस्तो मात्र देखिने तर कहिल्यै नसकिने विकासको प्रवृत्ति परिवर्तन गर्ने समय आएको छ, भन्दै सरकारी कार्यक्रमहरूलाई पुनः प्राथमिकतामा राखी परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सरकार कटिबद्ध रहेको उल्लेख गरे। उनले संवैधानिक व्यवस्था र प्रगतिशील परिवर्तनको विरोधमा उत्रिने प्रतिगामी गतिविधिहरूलाई कडा प्रतिवाद गर्ने चेतावनी पनि दिए।

अन्त्यमा, प्रधानमन्त्रीले आगामी जेठ १५ मा प्रस्तुत हुने वार्षिक बजेट वक्तव्यमा सांसदहरूले उठाएका सुझावलाई समेट्ने प्रतिबद्धता जनाउँदै, विकासमा नयाँ गति दिने र समृद्धिको ढोका खोल्ने सरकारको योजनामा सबैले साथ दिन अपिल गरे।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *