राजनीति

चैत्र १५ को हिंसात्मक आन्दोलनपछि जेठ १५ देखि राजावादीको अनिश्चितकालीन आन्दोलन किन ?

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सुरु भएको राजावादी आन्दोलनले राजधानीमा व्यापक हिंसा र क्षति पुर्‍याएको केही समयपछि, नबराज सुबेदीको नेतृत्वमा जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु हुने घोषणा गरिएको छ।

चैत्र १५ मा जनकमान्डरका रूपमा प्रस्तुत भएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा सुरु भएको आन्दोलन हिंसात्मक बन्दै गयो। प्रदर्शनकै पहिलो दिन निजी र सरकारी सम्पत्तिमा करोडौंको क्षति पुगेको थियो। भाटभटेनी स्टोरमा लुटपाट, पार्टी कार्यालय र मिडिया हाउसमा आगजनी, निजी घरहरूमा तोडफोडजस्ता घटना भए। भिडले एक पत्रकार र अर्का एक नागरिकको ज्यान समेत लिएपछि प्रहरीले बल प्रयोग गर्दै कर्फ्यू आदेश जारी गरेको थियो।

सो आन्दोलनका क्रममा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। राणा धरौटीमा छुटिसकेका छन् भने मिश्रलाई अदालतले पाँच दिनको म्याद दिएको छ। आन्दोलनपछि फरार रहेका दुर्गा प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर विभिन्न मुद्दा चलाइसकेको छ।

सरकारले आन्दोलनमा भएको क्षतिपूर्तिको जिम्मेवारी नेतृत्वकर्ताले लिनुपर्ने स्पष्ट पारेको छ। गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंलाई अराजकताको प्रमुख दोषी भनेका छन्।

त्यही पृष्ठभूमिमा, अब राजावादी शक्तिहरूले नबराज सुबेदीको संयोजकत्वमा जेठ १५ देखि देशव्यापी अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपाल अध्यक्ष कमल थापासहितको उपस्थितिमा भएको ‘जनआन्दोलन घोषणासभा’मार्फत यो जानकारी दिइएको हो। गत चैत्र १५ गतेको राजावादीको हिंशात्मक आन्दोलनपछि नवराज सुवेदीलाई करिब एक हप्ता उनकै निवासमा नजरबन्दमा राखिएको थियो । तर अहिले उनै सुवेदीले देशमा पुनः हिंशात्मक आन्दोलनको चेतावनी दिदैँ आएका छन् ।

आन्दोलनकर्ताले तीन प्रमुख माग अघि सारेका छन्। संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पुनःस्थापना,सनातन हिन्दू राष्ट्र घोषणा, केन्द्र र अधिकारसम्पन्न स्थानीय तह मात्र रहने गरी दुई तहको सरकारको व्यवस्था।

सत्तारुढ गठबन्धनसहित लोकतान्त्रिक र गणतान्त्रिक दलहरूले राजतन्त्र पुनःस्थापनाको प्रयासलाई अस्वीकार गर्दै, यदि कोही नेता बन्न चाहन्छ भने लोकतान्त्रिक प्रक्रियामार्फत आउन चुनौती दिइसकेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *