देश

सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेत लक्षित योगेश भट्टराईको चुनौती – किन भाग्ने, एक दिन आउनुनै पर्ने हुन्छ

काठमाडौं । सहकारी काण्डमा संलग्न रहेको आरोप लागेकी सांसद गीता बस्नेत १ वर्षदेखि फरार छिन्। यसै सन्दर्भमा नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमै उनको नाम नलिएर तीखा टिप्पणी गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा भट्टराईले भने, “जहाँ गएर जतिसुकै भागे पनि आउनै पर्छ। जो फरार हुनुहुन्छ, म उहाँलाई भन्न चाहन्छु – किन भाग्ने?” उनले सहकारी ठगीको गम्भीरता औंल्याउँदै सांसद बस्नेतजस्ता पात्रहरूले अनुसन्धानमा सहयोग गर्नु नै उपयुक्त हुने बताए।

बस्नेतमाथि नवलपुर, चितवन र बर्दियास्थित सहकारी संस्थाबाट करोडौं रुपैयाँ अपचलन गरिएको आरोप छ। तर उनी पक्राउ पुर्जी जारी भएदेखि सार्वजनिक रूपमा देखिएकी छैनन्। फरार अवस्थामै उनले १० लाखभन्दा बढी तलब–भत्ता बुझिसकेकी छन्। संसद्मा अनुपस्थित भए पनि “बिरामी” भनेर दिएको पत्रको आधारमा उनका बिदाहरू सदनबाट स्वीकृत हुँदै आएका छन्।

बस्नेतकी स्वकीय सचिव पार्वती लम्सालले पनि यो अवधिमा पाँच लाख रुपैयाँभन्दा बढी तलब भत्ता लिएकी छिन्। दुवैलाई १५ लाख रुपैयाँभन्दा बढी रकम सार्वजनिक खर्चबाट दिइएको हो। राप्रपाले यसअघि नै सांसद बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिइसकेको जनाएको छ। तर बस्नेत पार्टीको निर्देशन अवज्ञा गर्दै अझै फरार छन्। प्रमुख सचेतक ज्ञानेन्द्र शाही भन्छन्, “हामीले सरकारलाई बाटो खुला गरिसकेका छौं, अब निर्णय राज्य संयन्त्रको हो।”

सो प्रकरणले संसद् नियमावली, नैतिकता र जनताप्रतिको जवाफदेहितामा गम्भीर प्रश्न खडा गरिरहेको छ। सरकारले उनलाई कहिले पक्राउ गरेर अनुसन्धान अगाडी बढाउला ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *