काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँगको सत्ता साझेदारीमा कुनै विकल्प खोज्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। उनले पार्टीभित्र पनि एमालेसँगको समझदारीलाई तोड्नुपर्ने सोच नरहेको बताएका छन्। “व्यक्तिगत रूपमा पनि, पार्टीको तर्फबाट पनि एमालेसँगको सहमतिको विकल्प खोज्नुपर्ने प्रश्न नै उठेको छैन,” थापाले भने।
गगन थापाका अनुसार कांग्रेसले राजनीतिक समझदारीमा इमान्दार रहनुपर्ने र त्यसलाई कार्यान्वयन गर्नैपर्छ भन्ने पक्षमा रहेको छ। “हामीले कमाएको राजनीतिक प्रतिष्ठा त्यही इमानदार कार्यशैलीबाट आएको हो,” उनले जोड दिए।
हालको सत्ता गठबन्धनबारे थप छलफल नै नभएको भन्दै थापाले, “न सोचेका छौं, न छलफल गरेका छौं” भन्दै विकल्पको विषयमा कुनै तयारी नभएको बताए।
यद्यपि, उनले वर्तमान सरकारले केही जोखिम उठाएर भए पनि सुशासन र आर्थिक सुधारका क्षेत्रमा ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्। “मानिसमा भएको बेचैनी कम गर्न सक्ने कदम चाल्नुपर्छ भन्ने कुरा मात्रै हो अहिलेको प्राथमिकता,” थापाले भने।




