
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’ सर्वसम्मतिले पारित गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको उक्त विधेयकमाथि छलफलपछि सदनले स्वीकृति दिएको हो।
त्यसअघि सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै मन्त्री चौरसियाले कतिपय ऐनमा रहेका प्राविधिक तथा आनुसाङ्गिक त्रुटिहरूलाई सुधार गर्ने उद्देश्यले ८९ वटा ऐन संशोधन र दुई वटा ऐन खारेज गर्ने प्रक्रिया अगाडि बढाइएको बताए। यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा आएपछि विकास निर्माणको काम थप प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे।
सांसद पूर्णबहादुर घर्ती मगर र प्रेम सुवालले विधेयकका विभिन्न पक्षबारे जिज्ञासा राख्दै यसको सहज कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १९ गते दिउँसो ३ः०० बजे बस्नेछ।