काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आज शुक्रबार औपचारिक वार्ता हुने भएको छ। सरकारले वार्ताका लागि आग्रह गरेपछि महासंघ सकारात्मक रूपमा प्रस्तुत हुँदै शिक्षा मन्त्रालयमा बैठक बस्न सहमत भएको हो।
वार्तामा सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेतृत्व गर्नेछन्। मन्त्रालय स्रोतका अनुसार वार्ता मन्त्रालयमै हुनेछ र मन्त्री पन्त स्वयं सहभागी हुने पक्का भएको छ। यद्यपि, सरकारले औपचारिक वार्ता समिति गठन भने गरिसकेको छैन।
सरकारको निम्तोपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले सरकारको पहल सकारात्मक भएको बताउँदै, नवनियुक्त मन्त्रीज्यूले वार्ताका लागि बोलाउनु भएको छ, अब केहीबेरमै मन्त्रालय पुग्नेछौं, भनिन्।
गत केही सातादेखि शिक्षकहरूले शिक्षक सेवा सुधार, पेशागत सुरक्षा, र विधेयकसम्बन्धी विभिन्न मुद्दामा सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न कार्यक्रम गर्दै आएका छन्। शिक्षामन्त्री रघुजी पन्तले यसअघि सार्वजनिक रूपमा शिक्षकको चासोप्रति सरकार गम्भीर रहेको र वार्तामार्फत समाधान खोजिने बताएका थिए।
शिक्षकको आन्दोलन चर्किँदै गइरहेका बेला सुरु हुन लागेको यो वार्ता संवादमार्फत निकास खोज्ने अवसरका रूपमा हेरिएको छ। दुबै पक्ष वार्तामा जिम्मेवार रूपमा प्रस्तुत भए परिवर्तनको थालनी यहींबाट हुनसक्ने अपेक्षा गरिएको छ।वार्ताको नतिजा आजै सार्वजनिक हुने सम्भावना छ।
सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका छन् । गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू सरकारसँग छलफल गर्न भन्दै शुक्रवार दिउँसो सिंहदरबार गएका हुन् ।शुक्रवार नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षा सचिव डाक्टर दीपक काफ्लेले वार्ताका लागि छुट्टाछुट्टै रूपमा आह्वान गरेका थिए । त्यसपछि छलफलका लागि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित महासंघका २५ जना शिक्षक नेताहरू सिंहदरबार गएका हुन् ।
महासंघका महासचिव तुला थापाले वार्ताको आह्वानपछि छलफलका लागि मन्त्रालयतर्फ लागेको बताए । सरकारले वार्ताका लागि पुनः आह्वान गरेपछि महासंघले आन्तरिक छलफल गरेको थियो । छलफलमा बस्ने आन्तरिक सहमतिको जानकारीपछि महासंघको तर्फबाट २५ जनालाई सिंहदरबारको गेटपास उपलब्ध गराइदिन शिक्षा मन्त्रालयले प्रहरीलाई पत्र पठाएको थियो




