
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार भारत भ्रमणको तयारीमा रहेको बेला मुख्यमन्त्री कमल बहादुर शाहले आह्वान गरेको सर्वदलीय बैठक प्रमुख दलहरूको अनुपस्थितिमा औपचारिकतामै सीमित भएको छ। प्रदेश सरकारले आगामी वैशाख १६ देखि २२ गतेसम्मको लागि भारत भ्रमणको कार्यक्रम तय गरेसँगै छलफलका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले स्पष्ट असहमति जनाउँदै बहिष्कार गर्यो भने नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका प्रतिनिधिहरू पनि अनुपस्थित रहे।
सर्वदलीय बैठक बिहीबार बिहान ११ बजेका लागि तय गरिएको थियो, तर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता मानबहादुर धामीले सरकारको जवाफदेहीहीन व्यवहारको विरोधमा बैठक बहिष्कार गरिएको बताए। ूप्रदेश सभा बैठक नै अन्त्य गरेर प्रश्नहरूबाट पन्छिन खोजिएको छ,धामीले भने, यस्तो अवस्थामा भ्रमणको विषयमा छलफल गर्न बोलाइएको बैठकको औचित्य रहँदैन।
उनले आफू संसदीय दलको नेता हुँदाहुँदै आधिकारिक जानकारी समेत नपाएको गुनासो गरे। नेकपा समाजवादीका प्रमुख सचेतक नरेश शाहीले भने कार्य व्यस्तताका कारण बैठकमा अनुपस्थित भएको बताए।
बैठकमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री शाहसहित प्रमुख सचेतक विक्रम धामी, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी र प्रमुख सचेतक इन्दिरा गिरी, राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा. तारा जोशी मात्र सहभागी भए।
मुख्यमन्त्री शाहले बैठकमा भारत भ्रमणका उद्देश्य र कार्यक्रमबारे जानकारी गराउँदै भ्रमण उपयोगी बनाउन सुझाव मागेका थिए। सहभागी स्वतन्त्र सांसद डा. जोशीका अनुसार सीमासम्बन्धी सहजता, पर्यटन प्रवर्द्धन, विषादीयुक्त फलफूल तथा तरकारी नियन्त्रण र लगानी सम्मेलनको तयारीमा भारतका निजी क्षेत्रसँग समन्वय गर्ने विषयमा सुझाव दिइएको थियो।
१० सदस्यीय भ्रमण टोलीमा मुख्यमन्त्री शाहसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, कांग्रेस, एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा समाजवादीबाट प्रतिनिधित्व रहनेछ। साथै, राजनीतिक सल्लाहकार, सचिवहरू र आयोगका सदस्य पनि टोलीमा छन्।
मुख्यमन्त्रीको नेतृत्वमा भारत भ्रमण हुने भनिए पनि सर्वदलीय संवादमा देखिएको विभाजनले भ्रमणको प्रभावकारिता र पारदर्शितामाथि प्रश्न उठाएको छ।