
काठमाडौं । जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्।
प्रधानमन्त्री ओलीले उक्त संवादमा हमलामा ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गर्दै यस्ता हिंसात्मक घटनाहरूको नेपालले कडा निन्दा गर्ने बताएका छन्। उनले आतंकवादविरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्याएको जनाएका छन्।
“मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेँ र पहलगाम हमलामा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गरेँ,” ओलीले भने, “यस्ता जघन्य आतंकी घटनाविरुद्ध भारतसँग नेपालको ऐक्यबद्धता पुनः पुष्टि गरें।” यस टेलिफोन संवादले आतंकवादविरुद्ध क्षेत्रीय सहकार्य र समर्थन अझ बलियो बनाउने अपेक्षा गरिएको छ।