काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र पूर्ण स्वस्थ रहेको बताए।
“कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन। अबको २०–२५ वर्षपछि बुढो हुन्छु। कसैले हतार गरेर हुँदैन। मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गरिरहनु पर्दैन। केपी ओली बिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “कसैले एमाले बिनाको देशको पनि कल्पना गरेका छन्। केपी ओली बिनाको एमाले किन खोजेको होला? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ। एमाले बिनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ।”
अध्यक्ष ओलीले एमाले अस्तित्व रक्षाको लडाइँमा नभई विजयको यात्रामा रहेको बताउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरण भएर आउने उद्घोष गरे। गणतन्त्रलाई नमूनाका रूपमा स्थापित गर्दै विकास, सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको महान उद्देश्यप्रतिको नेतृत्वको दृढता र सक्रियताले पार्टी र आन्दोलन कमजोर हुन नसक्ने पुष्टि भइसकेको उनले बताए। राणा शासन, पञ्चायत र निरङ्कुश राजतन्त्रसँग जुध्नुका साथै सबै प्रकारका हमला हुँदा प्रमुख शक्तिका रूपमा स्थापित भएको एमाले भएकाले कुनै पनि प्रकारको दुविधा मनमा नराखी आत्मविश्वासका साथ अगाडि बढ्न उनले आग्रह गरे।
प्रधानमन्त्री ओलीले समाज बिगार्ने र राष्ट्रलाई नोक्सान गर्ने शक्तिले कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन षड्यन्त्रकारीबाट परिचालित भएर दुई तिहाइको अवस्थामा पुगेको पार्टीलाई विभाजन गराए पनि आफूहरूले आन्दोलनलाई पुनःगठित गर्दै जनताको सबैभन्दा लोकप्रिय पार्टीमा स्थापित गराएको बताए।
“हामी विकास र सुशासनको बाटोमा अगाडि बढेका छौँ। बिग्रिएको स्थितिलाई सपार्न सजिलो छैन तर हामी गर्न खोजिरहेका छौँ। हामी जनतालाई बलियो बनाउन र सरकारलाई बलियो बनाउन चाहन्छौँ। आगामी नयाँ बजेट र नीति कार्यक्रम त्यही अनुरूप ल्याउँदैछौँ,” अध्यक्ष ओलीले भने, “हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधान नमान्नेलाई एक्काइशौँ शताब्दीमा श्रीपेच लगाउने र जनतालाई हुकुमी शासन दिने राजा चाहिएको छ। जनताले ल्याएको लोकतन्त्र नमान्ने, संविधान नमान्ने, संवैधानिक राजतन्त्र खोज्ने? राजतन्त्रको भुलभुलैयामा नभुलौँ। नयाँ शक्ति भन्नेहरूको तमासा पनि देखिइसकिएको छ। त्यसकारण हामी दृढताका साथ न्याय र समानतासहितको राष्ट्र निर्माणमा अग्रसर होऔँ।”
प्रधानमन्त्री ओलीले हालै आफ्नो थाइल्याण्ड भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामो र सौहार्दपूर्ण कुराकानी भएको जानकारी गराउँदै नेपालको कुनै पनि मुलुकसँग शत्रुता नरहेको र सबैसँग मैत्रीपूर्ण सम्बन्ध रहेको स्पष्ट पारे।




