काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध भइरहेको कुनै पनि गतिविधि सरकारका लागि सह्य नहुने बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले संविधानको रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको उल्लेख गरे।
संविधान विरोधी गतिविधि नियन्त्रण र निस्तेज गर्न हामी स्पष्ट र दृढ छौं,मन्त्री लेखकले भने। उनले संविधान धेरै ठूलो त्याग र बलिदानबाट बनेको भन्दै त्यसको उल्लंघन कुनै पनि हालतमा स्वीकार्य नहुने दोहोर्याए।
पूर्वराजाका नाममा वा अन्य कुनै बहानामा संविधान मिच्ने र देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको भन्दै उनले यस्तो कार्यप्रति कडा आपत्ति जनाए। संविधानको आत्मा मर्न दिन्नौं, मन्त्री लेखकको जोड थियो।
उनको यस्तो अभिव्यक्ति हालै देशका केही भागमा देखिएको पूर्वराजाको सक्रियता र केही समूहद्वारा उठाइएका संविधान संशोधन वा खारेजीका मागसँग जोडिएको देखिन्छ।




