राजनीति

नयाँ राजनीतिक विकल्पको खोजीमा रास्वपा सांसद सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्रीबाट राजीनामा दिएकी सुमना श्रेष्ठले नयाँ राजनीतिक विकल्पको खाँचो औंल्याउँदै पुरानो राजनीतिक संस्कारप्रति असन्तुष्टि जनाएकी छन्। पत्रकारहरूसँगको कुराकानीमा उनले आफूजस्ता नयाँ सोच भएका सबैलाई एउटै मोर्चामा उभिनुपर्ने बताएकी हुन्।

बालेन शाहसँग २०८४ को चुनावमा सहकार्यको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले स्पष्ट रूपमा ‘हो’ वा ‘होइन’ नभनेर संकेतपूर्वक जवाफ दिइन्। “जति जनालाई पुरानो संस्कार चित्त बुझेको छैन, तिनीहरू सबै एक ठाउँमा आउनैपर्छ,” उनले भनिन्।

उनले पहिलो चरणको आन्दोलन, अर्थात् रवि लामिछानेको पक्राउविरुद्धको विरोधका क्रममा नै पार्टीभित्र फरक धार देखा परेको स्मरण गराउँदै, “त्यसबेला नै नयाँ सोच भएकाहरू एक ठाउँमा आउनुपर्छ भन्ने सन्देश आएको हो,” बताइन्।

सुमनाले बालेन शाहलाई सार्वजनिक कार्यक्रममा एकचोटि मात्रै भेटेको उल्लेख गरिन्। उनले सञ्चारमाध्यममा आफूलाई रक्षात्मक स्थितिमा राखेर खबर बनाइएका विषयप्रति असन्तोष पनि प्रकट गरिन्।

उनले रवि लामिछानेसँगको व्यक्तिगत सम्बन्धबारे एक पोडकास्ट अन्तर्वार्तामा गोलमटोल उत्तर दिएको आरोपमा पनि प्रतिक्रिया दिँदै भनिन्, “एउटा प्रश्नमा दुईवटा भर्सन आउन सक्छन्। भिडिओ भाइरल बनाइएको तर अभिव्यक्ति स्वतन्त्रताको सीमामा बोलेको मात्र हो।”

राजीनामाको विषयमा बोल्दै सुमनाले आफूले दुई हप्ता अघि नै राजीनामा दिएको तर त्यसबारे पार्टीभित्रबाटै हालै बाहिर ल्याइएको दाबी गरिन्। “सही समयमा राजीनामा दिएको थिएँ तर गलत समयमा प्रचार गरियो,” उनले भनिन्। रास्वपाभित्र निकै उत्कृष्ट नेतृत्वमा रहेकी सुमनाले बिहीबार सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनले सहमहामन्त्री पदबाट राजीनामा दिएपछि रास्वपाभित्र विभिन्न हल्ला चलाइएको छ । सो विषयमा समेत सुमनाले असन्तुष्टि जनाएकी छिन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *