राजनीति

पुनः सक्रिय राजनीतिका लागि पूर्वराष्टपति भण्डारीको दौडधुप : एमालेमा फर्काउन ओली कति तयार ?

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको भावी अध्यक्ष बन्ने तयारीका साथ पार्टीमा आन्तरिक छलफलमा व्यस्त छिन् । नेकपा एमालेभित्र अहिले सो विषयले समेत चर्चा पाएको छ । आगामी दिनमा आफू सक्रिय राजनीतिमा लाग्ने मनसायका साथ उनले जनतासँगको भेटवार्तालाई बाक्लो बनाउन थालेपछि अहिले नेकपा एमालेभित्र उनलाई पुनः सक्रिय राजनीतिमा फर्काउने विषयमा आन्तरिक छलफलमा प्रधानमन्त्री ओली पक्ष र पूर्व राष्ट्रपति भण्डारी पक्ष जुटेको स्रोतको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बुटवल सभामा आफूविना एमाले कल्पना गर्न नसकिने बताएपछि सुरु भएको यो बहसमा भण्डारीको अभिव्यक्तिले थप तरंग ल्याएको छ।

भण्डारीले स्पष्ट रूपमा भनिन्, “मेरो नाम पार्टी नेतृत्वका लागि चर्चामा आउनु स्वाभाविक हो। आवश्यकता परे बलिदान त दिनुपर्छ, श्रमदान दिन किन नहुने?” उनले आफ्नो राजनीतिक सक्रियता र सम्भावित नेतृत्वको संकेत दिएकी छन्।

राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरेपछि उनी पुनः एमालेमा फर्किएर पार्टी सदस्यता नवीकरण गरिसकेकी छन्। माओवादीका नन्दबहादुर पुनजस्तै उनी पनि सक्रिय राजनीतिमा पुनरागमन गर्ने नेतामध्ये परेकी छन्। एमालेभित्र ओलीको लामो एकछत्र नेतृत्वको विकल्प खोजी भइरहेका बेला भण्डारीको नाम बलियो रूपमा अगाडि आएको छ। मोरङ जिल्ला अधिवेशनमा ओली समूहको हार र भण्डारीको देशव्यापी सक्रियताले पार्टीभित्रको शक्ति संरचना बदलिँदै गएको संकेत मिलेको छ।

एमालेको विधान अनुसार अध्यक्ष पदमा उमेर हद र कार्यकाल सीमितता रहे पनि ओलीले ती अवरोध हटाउँदै तेस्रोपटक नेतृत्व सम्हाल्न खोजिरहेका छन्। यसैबीच, भण्डारीलाई पार्टीभित्र नयाँ ऊर्जा र नेतृत्वका रूपमा हेरिन थालेको छ। पूर्व माओवादी नेता र एमालेमा गाभिएका १० भाइ समूहुका केही नेताहरू पनि ओली नेतृत्वप्रति असन्तुष्ट छन्। अष्टलक्ष्मी शाक्य, भीम आचार्य, गोकर्ण विष्टजस्ता नेताहरूको मौनता र व्यस्तता पनि रणनीतिक रूपमा भण्डारीको पक्षमा जान सक्ने अनुमान छ।

यता, पार्टीभित्रै विष्णु पौडेल, ईश्वर पोख्रेल र शंकर पोख्रेलबीचको गुटीय टकरावले ओलीलाई नेतृत्व सन्तुलन गर्न हम्मे परेको छ। यस्तो बेलामा भण्डारीको उदयले नयाँ समीकरण जन्माउन सक्छ। ओली नेतृत्वको आलोचना र थकान अब कार्यकर्ताभित्र स्पष्ट देखिन थालेको छ। स्ववियू र स्थानीय तहको चुनाव परिणामले पनि पार्टीमा नयाँ अनुहारको आवश्यकता देखाएको कार्यकर्ताहरू बताउँछन्।

आगामी महाधिवेशनमा भण्डारीले उम्मेदवारी दिँदा पार्टीमा व्यापक चर्चा, बहस र सम्भवतः गम्भीर प्रतिस्पर्धा हुने देखिन्छ। उनले कम्युनिस्ट एकता र वाम गठबन्धनको एजेन्डा उठाएर धेरैलाई आकर्षित गर्न सक्छिन्। भण्डारीसँग तीनवटा बलियो आधार छन् – मदन भण्डारीको राजनीतिक विरासत, पहिलो महिला अध्यक्ष हुने सम्भावना, र राष्ट्रपतिको पूर्वपदको प्रतिष्ठा। तर, आलोचकहरू उनलाई ओली प्रवृत्तिकै निरन्तरता मानेर प्रश्न गरिरहेका छन् – “ओली शैलीको उत्तराधिकारले ओलीकै विकल्प कसरी दिन सक्छरु”

उनको विगतका राष्ट्रपतीय निर्णयहरू – संसद विघटनमा समर्थन, नागरिकता विधेयकप्रति रवैया – अझै आलोचनाको विषय छन्। त्यसैले उनलाई पार्टीभित्र स्विकार्यता दिलाउन समय लाग्न सक्छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *