
काठमाडौं । नेपाली राजनीतिमा फेरि एक पटक त्रिकोणीय समीकरण चासोको केन्द्र बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको ‘नियमित’ भेटले सरकारभित्रको शक्ति सन्तुलनको संकेत दिएको छ, भने कांग्रेस महामन्त्री गगन थापाको असन्तुष्टि गठबन्धनको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको देखिन्छ।
बालुवाटारमा एक घण्टा लामो छलफलमा जुटेका ओली र देउवा बीचको वार्तालाई दुबै पक्षले ‘नियमित’ भनेपनि समय र परिस्थितिले यसलाई सामान्य भन्दा परको संकेत दिएको छ। सरकारले सामना गरिरहेको दबाबका बीच दुई शीर्ष नेताबीचको संवादलाई सत्ता सम्हाल्न रणनीतिक कसरतको रूपमा हेरिएको छ।
कांग्रेसभित्र फरक शैलीले प्रस्तुत हुँदै आएका महामन्त्री गगन थापाले खुलेर असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच भएको आरोप लगाउँछन्। सरकारको गति ट्याक्टर जस्तो भएको भन्दै उनले संयन्त्रभित्र सहमति हुँदाहुँदै निर्णय अर्कोतिरबाट हुने अवस्थाप्रति आक्रोश जनाएका छन्। तथापि, उनले सरकार फेर्नुपर्ने अवस्था नरहेको भनेपनि सुधारका लागि आफ्नो दबाब जारी राख्ने संकेत दिएका छन्।
यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिल्यैदेखि सरकार परिवर्तनको संकेत दिँदै आएका छन्। आफू कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न तयार रहेको बताउँदै, सत्ताको पुनर्संरचना आवश्यक रहेको धारणा राख्दै आएका छन्।
यसरी, ओली–देउवाको भेट, गगनको आन्तरिक असन्तुष्टि र प्रचण्डको अघिल्लो चेतावनी मिलेर नेपालको वर्तमान राजनीतिक मञ्चमा ठूलो परिर्वतनको पूर्वसंकेत देखिन्छ। प्रश्न एउटै छ—अगाडि सहकार्य गहिरिन्छ त? वा सत्ताको नयाँ समीकरण जन्मन्छ र?
सत्ताकेन्द्रित दुई ठूलादलहरुले प्रचण्डलाई सत्तामा ल्याउन भने चाहेका छैनन् । अघिल्लो सरकारमा हुँदादेखि नै कांग्रेस र एमालेले सत्ताका लागि जे पनि गर्न तयार हुने स्वभाव प्रचण्डमा पाएपछि दुई ठूला दलहरुले उनलाई सरकारमा सामेल नगराउने मनसाय बनाउँदै आएका छन् ।
बाहिर आएको हल्ला सत्य नहुने बताउँदै आएका प्रधानमन्त्रीले सोमबार विवाद समाधान संयन्त्रमा नै बसेर समाधान गर्नुपर्ने बताएका थिए । तर मंगलबार भने कांग्रेस सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्रीबिच बैठक बसेपछि प्रश्न चिह्नहरु समेत धेरै उठन थालेका छन् ।