काठमाडौं । नेकपा एमालेले सरकार परिवर्तनको चर्चालाई निराधार भन्दै अस्वीकार गरेको छ। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट उठाइएको यस्तो बहसलाई सत्तामोहको अभिव्यक्ति भनी टिप्पणी गरेका छन्।
सोमबार सम्पन्न एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्ञवालीले भने, सरकार परिवर्तन अहिले न सम्भव छ, न त आवश्यक छ। यसको न त सान्दर्भिकता छ, न औचित्य। उनले माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै सरकार बाहिर हुँदा देखिएको असन्तोष पुनः प्रकट भइरहेको बताए।
ज्ञवालीका अनुसार अहिलेको राजनीतिक अवस्था स्थिरतातर्फ उन्मुख छ र यसलाई अनावश्यक रूपमा चलायमान बनाउने प्रयास जिम्मेवार हुँदैन। उनले प्रचण्डले अन्य गम्भीर विषय छाडेर केवल सरकारको विषय उठाउनु सत्ताको लोभ देखिने संकेत भएको बताए।
एमालेले सरकार परिवर्तनको कुनै आधिकारिक प्रक्रिया नचलेको स्पष्ट पार्दै राजनीतिक स्थायित्वलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेको छ।




