काठमाडौं । नेपाली काँग्रेसले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै सङ्गठन विस्तार र अभियानलाई तीव्र बनाएको छ। पछिल्ला गतिविधिहरू हेर्दा काँग्रेस नेतृत्व अब केन्द्रीय तहदेखि स्थानीयसम्म सङ्गठन सुदृढीकरणमा पूर्ण सक्रिय देखिएको छ।
पार्टीले गाउँ–नगर तहमा कार्यकर्ता भेला, प्रशिक्षण, र जागरण कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। जिल्लाबाट केन्द्रीय कार्यालयसम्म कार्य योजना तयार पार्दै काँग्रेसले जनतामाझ पुगेर आफ्ना नीति, योजना र अघिल्लो कार्यकालका उपलब्धि प्रस्तुत गर्न थालेको छ।
नेताहरूको दाबी अनुसार काँग्रेस अब एकल बहुमत ल्याउने लक्ष्यसहित अगाडि बढिरहेको छ। पार्टीभित्र साङ्गठनिक एकता कायम गर्न, युवालाई अगाडि ल्याउन र नीति स्पष्ट पार्न विशेष जोड दिइएको छ।
पछिल्ला केही निर्वाचनमा गठबन्धनको भरमा सरकारमा सहभागी रहँदै आएको काँग्रेस अब स्वबलमा जनमत जुटाउने रणनीतिमा छ। पार्टी स्रोतका अनुसार, सङ्गठन बलियो बनाएर मात्र राजनीतिक स्थायित्व र सुशासन सम्भव हुने काँग्रेसको बुझाइ छ।
यो सक्रियता काँग्रेसका लागि चुनावी रणनीतिक तयारीको सङ्केत हो भन्ने राजनीतिक विश्लेषकहरूको धारणा छ। पछिल्लो समयको राजनीतिक वृत्तमा कुनै पनि प्रमुख दलहरूले एकल बहुमत ल्याउन नसकेर दुई वा दुई भन्दा ठुला दलहरूसँग सहकार्य गरेर सरकार गठन र सञ्चालनमा समस्या आएपछि काँग्रेसले आगामी निर्वाचनमा कुनै पनि दलहरूसँग सहकार्य नगरी एकल प्रतिस्पर्धाबाट बहुमत ल्याएर विजयी हासिल गर्ने लक्ष्यका साथ अघि बढेको छ ।
महामन्त्री गगनकुमार थापा , विश्वप्रकाश शर्मा, उपप्रधानमन्त्री प्रकाशमान सिंह, काँग्रेस प्रवक्ता तथा पूर्व अर्थमन्त्री प्रकाश शरण महत लगायतका नेताहरू अहिले पार्टीलाई सक्रिय र जनताका गुनासाहरू सुन्नका लागि विभिन्न अन्तरक्रिया कार्यक्रमहरूमा लागि परेका छन् ।
काङ्ग्रेसभित्र युवा नेता महामन्त्री गगन थापाको क्रेज निकै हाइटमा छ । महामन्त्री थापा पछिल्लो समय पश्चिम क्षेत्रमा पार्टीको सङ्गठन विस्तारमा निकै सक्रिय रहे । भारतको प्रयागराजबाट फर्के लगत्तै उनी सल्यान पुगे । त्यसपछि रोल्पा र प्युठान पुगे । माओवादीको आधार इलाका रहेको रोल्पामा समेत थापाको क्रेज निकै उचाइमा दियो ।
महामन्त्री थापाले १५ वर्षपछि रोल्पामा भाषण गरेका थिए । उनको भाषण सुन्नेको भिड पनि निकै बाक्लो थियो । सल्यान र प्युठानमा समे पुगेर महामन्त्री थापाले देशको समसामयिक राजनीतिक घटनाक्रम र आर्थिक स्वतन्त्रका बारेमा कुरा उठाए । त्यहाँ नेता तथा कार्यकर्ताहरूले उनको भाषणलाई निकै गहन रूपमा ग्रहण गरेका थिए ।
काँग्रेसको १५औँ महाधिवेशनको चर्चा चलिरहेका बेला गगनको पश्चिम नेपालको दौडलाई तीव्रता दिए । यस्तै महामन्त्री थापाले बुधवार नेपालको सङ्घीयता अपेक्षित रूपले सञ्चालनमा नआएको बताए । रुपन्देहीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीयता अहिले ‘टाउकोले टेकेर उभिएको’ अवस्था रहेको उल्लेख गर्दै यसलाई ‘खुट्टाले टेकेर उभिने’ बनाउनु काँग्रेसको चुनौती भएको बताए।
जनतासँगको संवादका क्रममा सङ्घीय संरचना, निर्वाचन प्रणाली तथा जनप्रतिनिधिको सङ्ख्या जस्ता विषयमा लगातार प्रश्न उठ्ने गरेको भन्दै उनले व्यवस्थालाई सुधार गर्न निर्वाचन प्रणाली, जनप्रतिनिधिको जिम्मेवारी र नैतिक आधारलाई आधार मानेर अघि बढ्नुपर्ने स्पष्ट पारे ।
सङ्घीयता नेपालको लागि उपयुक्त भएको तर प्रभावकारी कार्यान्वयन गर्न नसक्दा समस्या आइपरेको उनको भनाइ थियो । यस्तै उनले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै विकास निर्माण र जनताका गुनासोलाई सम्बोधन गर्न प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराए ।
प्रधानमन्त्रीले भाषणमा मात्र सीमित भएर देशको अवस्थामा सुधार नआउने भन्दै परिणाममुखी नतिजा आउने गरी काम गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिए । काँग्रेस सभापति देउवाले सत्तामा रहेको काँग्रेसले परिणाममुखी काम गरे पनि प्रचार गर्न नसकेको भन्दै आफ्ना नेता कार्यकर्ता तथा मन्त्रीहरूलाई आफूले गरेका कार्यहरूलाई चर्चामा ल्याउन समेत निर्देशन दिइसकेका छन् । त्यसपछि अहिले काँग्रेसका मन्त्री तथा सांसदहरू जनताका घरघरमा पुगेर जनताका गुनासो सम्बोधन गर्न लागि परेको छ । काँग्रेस अहिले देशका राष्ट्रिय एजेन्डा र नागरिकका अधिकारलाई सुनिश्चित गर्ने दिशामा केन्द्रित छ ।
कांग्रेस सभापति देउवाले आगामी २०८४ को निर्वाचनमा एकल बहुमत ल्याएर ढुक्कले पाँच वर्ष सरकार चलाउने वातावरण बनाउन कांग्रेसले गुटबन्दी बिर्सिएर अगाडी बढ्न सबै नेता तथा कार्यकताहरुलाई निर्देशन दिइसकेका छन् । अहिले कुनै पनि दलले संसदमा एकल बहुमत ल्याउन नसक्दा दुई वा दुई भन्दा बढी राजनैतिक दलहरुको सहकार्यमा सरकार संचालन गर्दा समस्या आएको उल्लेख गर्दै सभापति देउवाले अब कांग्रेसले एकल बहुमत ल्याउन विषयमा सबै बिर्सेर लाग्नुपर्नेमा जोड दिएका छन् ।
काँग्रेसका अन्य नेताहरू पनि कर्णाली, सुदूरपश्चिम, मधेस प्रदेशमा पुगिसकेका छन् । काँग्रेस नेताहरूले आफू पुगेका ठाउँहरूमा वर्तमान समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयलाई नेपालको हितमा हुने गरी केन्द्रबिन्दुमा राखेर बहस गरिरहेका छन् ।
उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि राजावादीको अभिव्यक्तिका विषयमा सान्दर्भिक अभिव्यक्ति दिने गरेका छन् । काँग्रेस नेताहरूले विभिन्न कार्यक्रममा देशलाई समृद्धिको दिशामा अघि बढाउन सबैले आ–आफ्नो क्षेत्रबाट सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । काँग्रेसका नेताहरूले नेपालमा राजावादी आन्दोलनको नाममा अराजकतावादी गतिविधि र हिंसात्मक गतिविधिमा सक्रिय हुनेलाई नेपालको प्रचलित कानुनअनुसार कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।
गत चैत्र १५ गते देशको राजधानीको तीनकुने क्षेत्रमा भएको राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको तोडफोड, मानवीय तथा भौतिक क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै सो घटनाको जिम्मेवार राजावादीको टिम र पूर्वा राजा ज्ञानेन्द्र शाह नै जिम्मेवारी हुनुपर्ने बताएका छन् । सरकारले समेत सो विषयलाई नै निष्कर्ष समेत बनाइसकेको छ ।
आगामी १५ औँ महाधिवेशन, र काँग्रेस सदस्यता नवीकरण, सङ्गठन निर्माण,र समसामयिक राजनीति घटनाक्रमलाई केन्द्री विन्दुमा राखेर काँग्रेस अगाडी बढीरहेको छ । नेपाली कांगेसले क्रियाशील सदस्यता नवीकरण गरी विवरण पठाउन १५ दिन म्याद थप गरेको छ। यसअघि चैत मसान्तसम्मको म्याद दिएको महामन्त्री गगन थापा नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले विवरण आउने सङ्केत नदेखिएपछि १५ दिनको म्याद थप गरी परिपत्र गरेको छ। परिपत्रमा भौचरसहित २०८२ साल वैशाख १५ गतेभित्र विवरण पठाउन निर्देशन दिइएको छ। काँग्रेस नवीकरणको काम समयमा नै सकेर अन्य काम सक्रिय बन्न चाहन्छ ।
यस्तै काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले ५० वर्षपछि शिक्षा विधेयक गणतन्त्रले ल्याएकाले शिक्षकका समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्। नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षकका माग पूरा गरेर उनीहरूलाई काममा फर्काउन आवश्यक रहेको बताए।
लामो समयदेखि शिक्षकहरू आफ्ना विभिन्न माग लिएर सडकमा छन् । सम्झौताका विषयमा उनीहरूलाई सरकारले बोलाई सकेको छ । शिक्षकहरूको माग सम्बोधन गर्ने विषयमा काँग्रेस सभापति देउवाले समेत ऐक्यबद्धता जनाइसकेका छन् । शर्माले राजतन्त्रको समर्थन गर्नेहरूलाई हिंसात्मक गतिविधिमा नलाग्न आग्रह गर्दै स्थिरता कायम गरेर विकासको गति बढाउनुपर्नेमा जोड दिए। उनले श्रीपेच चुनाव चिन्ह लिएर निर्वाचन लडेर बहुमत ल्याउन चुनौती दिए। यो काँग्रेसको मात्र होइन ,प्रमुख राजनीतिक दलहरूको समेत पूर्व राजा ज्ञानेन्द्रलाई चुनौती नै हो ।
यस्तै उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रचारबाजीमा मात्र सीमित नभई जनताले प्रत्यक्ष अनुभव गर्ने गरी विकासका कार्यहरूलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले सम्पन्न भएका योजनाहरूको जानकारी आम नागरिकलाई स्पष्ट रूपमा गराउनुपर्ने र बाँकी कार्यहरूलाई पनि सोही अनुसार पारदर्शी ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए।
काँग्रेस प्रवक्ता प्रकाश शरण महतले हुलाकी राजमार्गलाई केन्द्रित गरी तराई–मधेसमा पार्टीको सङ्गठन सुदृढीकरण र कार्यकर्तासँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यले अभियान सुरु गरेका छन्। प्रवक्ता महत यस अभियानको थालनी गर्दै मङ्गलवार सप्तरी पुगेका थिए। काँग्रेस सप्तरी कार्यालयबाट औपचारिक रूपमा अभियान सुरु गरेका उनले तराई–मधेसका विभिन्न जिल्लामा हुलाकी राजमार्ग आसपासका क्षेत्रमा अन्तर्क्रिया लगायतका कार्यक्रम गर्ने योजना समे बनाएका छन् । सप्तरी क्षेत्र नम्बर १ का कार्यकर्तासँग बुधवार भएको अन्तर्क्रियामा प्रवक्ता महतले पार्टीका नेता तथा कार्यकर्ताहरू आफ्नो काममार्फत पहिचान बनाउनुपर्नेमा जोड दिए ।
महतले पार्टीभित्रका कमीकमजोरीलाई सम्बन्धित निकायमार्फत सुधार गर्दै लगिने उल्लेख गर्दै पार्टीको १५औँ महाधिवेशन आउन अझै समय लाग्ने बताए। महाधिवेशनलाई लक्षित गरी नेताहरूले गरिरहेको दौडधुपप्रति टिप्पणी गर्दै उनले अहिलेदेखि नै व्यक्ति विशेषको प्रचारमा लाग्नुभन्दा पार्टीलाई बलियो बनाउनुपर्नेमा क्रियाशील हुन सबैलाई आग्रह समेत गरे । प्रवक्ता महतले १५औँ महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्ने घोषणा गर्ने समय नभएको बताए पनि उनी सभापति पदका आकाङ्क्षीका रूपमा हेरिएका छन्।
यस हुलाकी राजमार्ग केन्द्रित अभियानमा प्रवक्ता महतसँगै केन्द्रीय सदस्य दिनेश यादव, मदनकृष्ण श्रेष्ठ, उर्मिला केसी नेपाललगायतका नेताहरूको पनि सहभागिता रहेको छ। प्रवक्ता महतसहितको टोलीले मधेस प्रदेशका आठ वटै जिल्लाका विभिन्न स्थानमा पुगेर पार्टीका नेता कार्यकर्तासँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ।
नेपाली कांग्ेसले यही गतिमा संगठन विस्तार जनताका गुनासाहरुलाई सम्बोधन गरी जनताको मन जित्दै गएमा आगामी २०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने कुरामा संकैँ गर्नुपर्दैन् । तर कांग्रेसले अहिले बोलेका बाँचालाई चुनावी समयमा परिवर्तन गरी एकअर्कामा गठबन्धन गरेमा भने नागरिकहरुले कांग्रेस विश्वास गुनमाउन सक्छन् । कांग्रेसलाई अहिले ठूला दलको हैसियतले समेत एकल बहुमतको सरकार संचालनमा समस्या भएपछि केही अफ्ठ्याराहरु भने नभएका होइनन् तर पनि कांग्रेसले राजनैतिक अस्थिरतालाई कायम राखी देशको आर्थिक वृतमा हरियो साइन दिन सरकारलाई बारम्बार ध्यानाकर्ष समेत गराउँदै आएको छ ।
नेपाली कांग्रेसले विभिन्न कारणले बन्द गरिएका उद्योगहरुलाई पुन : संचालनमा ल्याउन सरकारको ध्यानाकर्ष गराउँदै आएको छ । दिनप्रतिदिन बढिरहेको वेरोजगारी समस्या हल गर्न र कृषि क्षेत्रको विकासलाई समेत ध्यानमा राखेको छ । नेपालको भौतिक विकासमा उल्लेखीय परिणाम दिनेगरी काम गर्नुपर्नेमा समेत जोड दिएको छ ।
सत्ताप्रतिपक्षदलहरुले कांग्रेस एमालेको गठबन्धन टुटाउन विभिन्न मोर्चाबन्दी गरेर सरकारले गरेका सकरात्मक कार्यमा समेत अराजक र भ्रमात्मक सन्देश जारी गरिरहेको छ । तर कांग्रेसले प्रतिपक्षले फिँजाएका भ्रमका बारेमा सक्रिय भएर् प्रतिकार जारी राखेको छ । कांग्रेस संघीय संसदकै ठूलो दल र एमाले दोस्रो ठूलो दल भएकाले साना दलहरुलाई गतल प्रचार गर्नुभन्दा सत्य र तथ्यपरक भएर अभिव्यक्ति दिन समेत आग्रह गरिरहेका छन् । अहिले सत्ताप्रतिपक्ष दलहरुले सरकारका कम्जोरीहरु देखाएर सडकमा जनता उतारेर फन्डा गर्न थालेपछि नेपाली कांग्रेसले अराजकतावादी, भ्रामक सन्देश छर्दै हिंशात्मक आन्दोलनमा उपस्थित नहुन समेत सबै नागरिक तथा वुद्धिजीविहरुलाई आग्रह गरिसकेको छ ।
यस्तै कांग्रेस संस्थापन इतर समुहबाट नेतृत्व गरिरहेका १५ औँ महाधिवेशनमा सभापतिको दाबेदार शेखर कोइराला समुह पनि संगठन विस्तारका साथै देशका राजनैतिक तथा आर्थिक पक्ष लगायत बलियो बनाउने विषयलाई मुख्य एजेण्डका रुपमा लिएर जिल्लाका विभिन्न ठाउँमा पुगेका छन् । उनले देश र विश्वकै अर्थतन्त्र ओरालो लागेका बेलामा सरकार र राजनैतिक संयन्त्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । संविधान संशोधन अत्यावश्यक देखिए पनि अब कांग्रेस–एमालेले मात्रै हैन कम्तीमा संसद्का सबै दल, नागरिक समाज र कानुन विज्ञहरूको सल्लाहमा संशोधन हुनुपर्ने उनको भनाइ छ।
देशमा सुशासन कायम राख्न विचौलियको मनपरीतन्त्रलाई जरैबाट उखाल्ने विषयमा सरकार लगायत सबै दलहरुले महत्वपूर्ण भूमिका खेल्ने विषय आएको उनको निष्कर्ष रहेको छ ।




