काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रको नाममा हिंसा फैलाउनेलाई कानुनी कारबाही हुने कडा चेतावनी दिएका छन्। मधेश प्रदेशसभामा सम्बोधन गर्दै उनले गणतन्त्र नेपालको आज र भविष्य भएको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले पछिल्लो समय राजतन्त्रको समर्थनमा भइरहेको तोडफोड र आगजनीप्रति गम्भीर आपत्ति जनाउँदै भने, “दुई–चार हजारले सडकमा उत्रेर बितण्डा मच्चाएर व्यवस्था परिवर्तन हुन्छ भन्ने सपना देख्नु गलत हो। यस्ता कार्यलाई समाजले स्वीकार्दैन, कानुनले क्षमा गर्दैन।”
उनले शान्तिपूर्ण प्रदर्शनलाई सरकारले दबाएको भन्ने प्रचार असत्य भएको बताए। “सरकारले न आग्रहमा, न पूर्वाग्रहमा काम गर्छ। जो कसैले नियम उल्लङ्घन गर्छ, उसलाई कानून अनुसार कारबाही हुन्छ,” प्रधानमन्त्रीको भनाइ थियो।
ओलीले सत्तारुढ गठबन्धनको सरकार दृढ रहेको उल्लेख गर्दै सरकार न त ढल्नेछ, न हल्लिनेछ,भन्दै विपक्षी दललाई पनि कूटनीतिक सन्देश दिए।
उनको यो अभिव्यक्ति पछिल्लो समय राजसंस्थाका पक्षधरहरू सडकमा उत्रिएको र हिंसात्मक घटनाहरू बढ्न थालेको पृष्ठभूमिमा आएको हो।




