काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज उच्च अदालतको आदेश बमोजिम रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको छ ।
अदालतमा उपस्थित गराएर सबै कानुनी प्रक्रिया पूरा भएपछि उहाँलाई जिल्ला कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको थुनामा पठाउने आदेशसँगै शुक्रवार राति नै लामिछानेले काठमाडौँ स्थित घरबाटै गिरफ्तारी दिएका थिए ।
शनिबार उनलाई रुपन्देही जिल्लाको भैरहवा लगिएको थियो । तीन दिन न्यायिक हिरासतमा राखेर आज अदालती प्रक्रिया पूरा गर्न अदालत पेश गरेपछि कारागार चलान गरिएको छ । यो सँगै रबि लामिछानेको तर्फबाट आजै सर्वोच्च अदालतमा जाने तयारी रहेको रास्वपाले जनाएको छ ।
सभापति रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा, रुपन्देहीमा राखिएको छ ।
कारागार प्रशासक सुरेश भण्डारीका अनुसार उनलाई कारागारको ४ नम्बर ब्लकमा एक्लैलाई राखिएको छ । उनले भैरहवा कारागारमा ४ वटा ब्लक बताए । १ र २ नम्बर ब्लकमा अरु कैदी तथा थुनुवाहरू छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो । अहिले रविलाई राखिएको ब्लक भने ४ नम्बर हो । यो ब्लकमा १० जना कैदी बस्ने क्षमता भएका ठाउँमा उनलाई राखिएको स्रोतको दाबी छ । कारागार चलान हुँदै गर्दा रविले कुनै माग नगरेको र आफूलाई एक्लै राख्नसमेत नभनेको भण्डारीको भनाइ छ ।




