काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र ल्याउने सहमति आफू, गिरिजाप्रसाद कोइराला र तत्कालीन राजा ज्ञानेन्द्र शाहबीच पहिले नै भइसकेको दाबी गरेका छन्। उनका अनुसार, माओवादी नेता प्रचण्ड पछि मात्र सो सहमतिमा मिसिएका थिए।
पार्टी निकट आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेलामा बोल्दै नेपालले भने, “११ वैशाख २०६३ मा हामीले ज्ञानेन्द्रसँग सबै कुरा मिलाएर निर्णय गरिसकेका थियौं। प्रचण्ड त पछि जनयुद्ध छोडेर मात्रै आउनुभएको हो।”
नेपालले एमालेमै हुँदा साउन महिनामै गणतन्त्र ल्याउने निर्णय पार्टीले गरेको स्मरण गरे। ूसबै अधिकार जनतालाई सुम्पिएको हो, हामीले सहमति गरेर कागज तयार गरेका थियौं, उनले भने।
“ज्ञानेन्द्रलाई राजा फर्काउने इच्छा छैन” अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्रको सचिवको भनाइ उद्धृत गर्दै अहिले राजतन्त्र फर्काउने चाहना ज्ञानेन्द्रसँग नरहेको बताएका छन्। उनले यसप्रति सन्तोष व्यक्त गर्दै भने, “यदि उहाँलाई राजनीति गर्नु छ भने पार्टी खोल्नूस्, चुनावमा जानूस्, जनताको समर्थन जित्नूस्।”
नेपालले जनताले रोजेको नेताभन्दा वंशज शासन सधैं गलत हुने बताए। राजावादीहरु सरकारमै बसेर बाहिर आन्दोलन गरिरहेको भन्दै उनले विरोध गरे।
राजावादी आन्दोलनका बेला अन्य पार्टी कार्यालयलाई सुरक्षा दिइएको तर आफ्नो पार्टीको कार्यालय बेवास्ता गरिएको भन्दै नेपालले सरकारको आलोचना गरे। उनले आफ्नो पार्टीलाई क्षतिपूर्तिको मागसमेत गरेका छन्।




