काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूको हिंसात्मक आन्दोलनलाई अस्वीकार्य बताउँदै संविधानविरोधी गतिविधि गम्भीर अपराध भएको बताएका छन्। सोमबार संघीय संसदमा बोल्दै उनले चैत १५ मा भएको विध्वंसकारी घटनाको क्षतिपूर्ति आन्दोलनका नाइकेहरूले नै दिनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले राजवादीहरुलाई कडा चेतावनी दिदैँ संसदमा प्रश्न उठाए । उनले भने – संविधानको शपथ लिने, अनि त्यसैको विरोध गर्ने? यो नैतिकताले स्वीकार्छ? संविधानको रक्षा, लोकतन्त्रको मजबूती, र गणतन्त्रको सफल कार्यान्वयन सरकारको मुख्य दायित्व हो। संविधानविरोधी गतिविधिमा संलग्न कसैलाई छुट दिइने छैन।सर्वसाधारणलाई जेल हाल्ने अनि राप्रपा नेताहरूलाई उन्मुक्ति दिने कुरा स्वीकार्य हुँदैन।’
हिंसात्मक आन्दोलन र क्षतिपूर्तिको जिम्मेवारी
प्रधानमन्त्री ओलीले तीनकुने घटनामा भएको हिंसा, तोडफोड र आगजनीका लागि राजावादी नेताहरू दुर्गा प्रसाईँ, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वराजा ज्ञानेन्द्र शाह नै जिम्मेवार भएको स्पष्ट पारे । सरकारको ठहर छ कि उनीहरूले नै आन्दोलन भड्काएर राज्य र सर्वसाधारणलाई क्षति पुऱ्याएका छन्, त्यसैले पीडितलाई क्षतिपूर्ति उनीहरूले नै दिनुपर्ने सरकारले निष्कर्ष निकालेको छ । सरकारले सो घटनालाई अपराधिक गतिविधि भएको बताएको छ ।
राप्रपाले सडक आन्दोलनलाई निरन्तरता दिने संकेत दिँदै आइतबार साँझ राँके जुलुस निकालेको छ। प्रधानमन्त्री ओलीले हिंसा भड्काउने गतिविधिलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पार्दै भने, संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने कसैलाई उन्मुक्ति दिइने छैन। सरकारले संविधान विरोधी गतिविधि र हिंसात्मक आन्दोलनमा संलग्नहरूमाथि कडा कारबाही गर्ने निर्णय लिइसकेको छ ।




