देश

तीनकुनेमा राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप, पाँच राउन्ड अश्रुग्यास प्रहार

काठमाडौं । राजधानीको तीनकुनेमा बिहीबार दिउँसो राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका समर्थकहरू र प्रहरीबीच तनाब उत्पन्न भएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो। राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा प्रदर्शनकारीहरू तीनकुनेमा भेला भएका थिए। प्रशासनले यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

तर, प्रदर्शनकारीहरू निषेधाज्ञा तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो। प्रहरीको रोकेपछि प्रदर्शनकारी आक्रोशित बनेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए।

यसअघि राजसंस्था समर्थक समूहले देशभर विभिन्न कार्यक्रम गर्दै आएका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भइरहेको यो आन्दोलनले पूर्वराजा ज्ञानेन्द्रको पुनःस्थापनाको माग गर्दै आएको छ । प्रशासनले राजावादी प्रदर्शनलाई तीनकुने र गणतन्त्र समर्थकहरूलाई भृकुटीमण्डप सीमित राख्ने निर्णय गरे पनि राजावादी समूहले निषेधित क्षेत्र पार गर्ने प्रयास गरेपछि झडप भएको हो। प्रहरीले बिहानैदेखि तीनकुने क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको थियो। राजावादीहरूलाई रिङरोड बाहिर मात्र प्रदर्शन गर्न अनुमति दिइएको थियो।

भीड नियन्त्रण गर्न २५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। अस्थायी रूपमा ‘कमान्ड सेन्टर’ स्थापना गरी प्रदर्शनस्थलको निगरानी गरिएको छ। सादा पोसाकका प्रहरी पनि घुसपैठ रोक्न परिचालित छन्। राजावादी समूहले सरकारप्रति असन्तुष्टि जनाउँदै बल प्रयोगको विरोध गरेका छन्। प्रदर्शनकारीहरूले शान्तिपूर्ण रूपमा अघि बढ्दा प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाएका छन्। संयुक्त जनआन्दोलन समितिका एक नेताले भने, ूहाम्रो आन्दोलन संविधानअनुसारको शान्तिपूर्ण विरोध हो। प्रहरीले दमन गरेर हाम्रो आवाज दबाउन खोजेको छ।

झडपका कारण काठमाडौं उपत्यकाको मुख्य सडकखण्डमा ट्राफिक आवागमन प्रभावित भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार तीनकुने, बानेश्वर र आसपासका क्षेत्रमा यातायात व्यवस्थापनमा कठिनाइ भएको छ। प्रहरीले अहिले स्थिति नियन्त्रणमा लिएको जनाएको छ। तर, प्रदर्शनकारीहरू अझै पनि तीनकुने क्षेत्रमै रहेका छन्। प्रशासनले थप तनाव हुन नदिन सुरक्षा सतर्कता बढाएको छ। आगामी दिनमा पनि राजावादी समूहको प्रदर्शन जारी रहने बताइएकाले काठमाडौंमा सुरक्षा व्यवस्था थप कडा बनाइने प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *