काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई निष्कर्षमा पुर्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। जबाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित सङ्गठनहरूद्वारा आयोजित राष्ट्रिय सम्मेलनमा बिहीबार बोल्दै उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग का काम सफल बनाउन सरकार आवश्यक सबै सहजीकरण गर्न तयार रहेको बताए।
प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा संक्रमणकालीन न्यायका काम किन सफल भएनन् भन्ने समीक्षा गरेर आगामी दिनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, पीडितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय रहन्छ। अठार वर्षसम्म शान्ति प्रक्रियाले पूर्णता नपाउँदा अन्तर्राष्ट्रिय रूपमा लज्जास्पद अवस्था सिर्जना भएको छ। अब काम टुङ्गोमा पुर्याउन हामी गम्भीर छौँ।
प्रधानमन्त्री ओलीले हिंसाका घटनाहरू दोहोरिन नदिन प्रतिबद्धता जनाउँदै भने, ूहिंसाको बाटो हामीले छोडिसकेका छौँ। अब त्यस्ता घटना दोहोरिन दिनु हुँदैन। जनयुद्धलाई उत्सव मनाउनुको सट्टा पीडितको घाउमा मल्हम लगाउनु जरुरी छ।
उनले गम्भीर मानव अधिकार उल्लङ्घन गर्नेहरूलाई कारबाही हुने स्पष्ट गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा संक्रमणकालीन न्यायलाई नबाँध्न आग्रह गरे। सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि नयाँ सिफारिस समिति गठन भइसकेको जानकारी गराउँदै उनले प्रमुख दलहरूको परामर्शमा प्रक्रिया अघि बढिरहेको बताए।
प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउँदै नेपालले मौलिक समाधान खोजिरहेको उल्लेख गरे। कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थिति रहेको थियो।




