राजनीति

कास्की कांग्रेस सभापतिविरुद्ध नेविसंघको बिद्रोह, ११ केन्द्रीय सदस्यद्वारा कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) का ११ केन्द्रीय सदस्यले कारबाहीको माग गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै ती सदस्यहरूले पार्टी बेच्न खोजेको आरोप लगाउँदै कांग्रेस केन्द्रीय अनुशासन समितिमा लिखित कारबाही पत्रसमेत पठाएका छन्।

नेविसंघका सदस्यहरूका अनुसार स्ववियु निर्वाचनमा कांग्रेस समर्थित उम्मेदवारलाई सघाउनुपर्ने जिम्मेवारी भए पनि बरालले सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न उक्साएको आरोप लगाएका छन्। प्रेस विज्ञप्तिमा भनिएको छ, लोकतान्त्रिक पार्टीलाई कमजोर बनाउन खोज्ने नालायक सभापति बराललाई साधारण सदस्यबाटै निलम्बन गर्न माग गर्छौं।

नेविसंघ केन्द्रीय सदस्य अन्जान थापाले उद्योगी–व्यापारीसँग चन्दा संकलन गरेर स्ववियु निर्वाचनमा खर्च गरे पनि अभिभावकीय भूमिका निर्वाह नगरेको आरोप लगाए। ती सदस्यहरूले ७ दिनभित्र कारबाही नभए सशक्त आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन्।

सभापति बरालले भने आफूले कुनै गल्ती नगरेको र नेविसंघका उम्मेदवारलाई हराउने उद्देश्य नरहेको बताए। उनले टिकट वितरणमा पनि हस्तक्षेप नगरेको दाबी गरे। स्ववियु निर्वाचनमा कास्कीमा नेविसंघको प्रदर्शन कमजोर रह्यो। देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा नेविसंघ आधा भन्दा कम मत ल्याउँदै अनेरास्ववियुसँग पराजित भयो। चार आंगिक क्याम्पसमध्ये तीनवटा एमालेनिकट अनेरास्ववियुले जित्दा एकमा स्वतन्त्र उम्मेदवार विजयी भए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *