राजनीति

राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापना आन्दोलनलाई लिएर राप्रपाको बैठकमा चर्काचर्की, टेबुल ठोकाठोकसम्मको स्थिति

काठमाडौं । आगामी चैत १५ गते हुने राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापना आन्दोलनलाई लिएर राप्रपाको बैठकमा चर्काचर्की र टेबुल ठोकाठोकसम्मको स्थिति सिर्जना भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले नवराज सुवेदी नेतृत्वको आन्दोलनप्रति असहमति जनाए पनि अन्ततः बैठकको दबाबपछि सुवेदीको मोर्चासँग सहकार्य गर्न सहमति जनाइएको छ । यद्यपी राप्रपा अध्यक्ष लिङदेन रातन्त्रको पक्षमा खुलेर लागेका छैनन्,राजावादीको आन्दोलनमा अध्यक्ष नै सामेल भएमा राप्रपको नेतृत्व र आम नागरिकहरुको टिक्काटिप्पणीको थुप्रो लाग्ने भएकाले अध्यक्ष लिङदेन आन्दोनमा नजाने मनसायमा देखिन्छन् ।

मंगलबार एस.आर. बैंक्वेट, धुम्बाराहीमा बसेको राप्रपाको मूल आन्दोलन परिचालन समितिको बैठकमा अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापना अभियानमा समान विचार राख्ने पक्षहरूसँग सहकार्य गर्ने प्रस्ताव प्रस्तुत गरे।

तर, पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सहकार्य गर्ने पक्षमा नवराज सुवेदीको नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्छू भन्दै आपत्ति जनाए। लिङ्देनले सुवेदी नेतृत्वको मोर्चाप्रति स्वामित्व नलिएको र उनीसँग सल्लाह नगरी अघि बढेको आरोप लगाए।

बैठकमा टेबुल ठोक्दै नेताहरूको आक्रोश
लोहनीको प्रस्तावलाई लिङ्देनले अस्वीकार गरेपछि बैठक तनावग्रस्त बन्यो। उपाध्यक्ष विक्रम पाण्डेले लिङ्देनको प्रस्तावमाथि आपत्ति जनाउँदै भने, तपाईंले निर्णय भइसकेको भन्दै भ्रम सिर्जना गर्नुभयो। छलफलमै ल्याएको विषय किन पन्छाउनुहुन्छ ?

महामन्त्री कुन्ती शाहीले बोल्न खोज्दा लिङ्देनले रोक्न खोजेपछि उनले टेबुल ठोक्दै भनिन्, यो पार्टी अध्यक्षको मात्रै होइन, सबैको हो। हामीले पनि बोल्न पाउनुपर्छ। बैठकमा सहायक महामन्त्री प्रवीन थोकर लगायत युवा नेताहरू उठेर लिङ्देनको निरंकुश शैलीको विरोधमा उत्रिए। उनीहरूले पार्टीमा तानाशाही चल्दैन भन्दै आक्रोश पोखे।

बैठकमा चर्काचर्की बढेपछि नेता जयन्त चन्दले सुवेदीको नाम स्पष्ट रूपमा उल्लेख गर्दै सहकार्य गर्नुपर्ने प्रस्ताव गरे। सहमहामन्त्री सगुनसुन्दर लावतीले पनि विगतका बैठकहरूले सुवेदीको भूमिकालाई स्वीकार गरिसकेको भन्दै समर्थन जनाए।

बैठकको अन्त्यतिर काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडाले चैत १५ गतेको आन्दोलनमा सहभागिता जनाउने कि नजनाउने स्पष्ट पार्न आग्रह गरे। अन्ततः बैठकमा दबाब बढेपछि अध्यक्ष लिङ्देन सुवेदी नेतृत्वको आन्दोलनमा जान पाउने र पार्टीले आन्दोलनलाई आधिकारिक रूपमा समर्थन गर्ने सहमतिमा पुगे।

संसदमा राजसंस्था समर्थक सबैभन्दा ठूलो दल राप्रपा भए पनि नेतृत्वका विषयमा आन्तरिक द्वन्द्व देखिएको छ। लिङ्देन आफ्नै नेतृत्वमा आन्दोलन सञ्चालन गर्न चाहन्थे तर पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वपञ्च नवराज सुवेदीलाई आन्दोलनको कमान्ड दिएपछि लिङ्देन असन्तुष्ट बनेका छन्। बैठकमा सहभागी एक नेताले भने, अध्यक्ष लिङ्देन सुरुमा कडा रूपमा प्रस्तुत भए पनि अन्ततः दबाबमा झुके। अब हामी सुवेदी नेतृत्वको आन्दोलनमा जान्छौं।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *