काठमाडौं । प्रतिनिधि सभामा जारी अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले पाँच प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्। नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकहरूबीच संवाद भइरहेको छ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि विपक्षी दलहरूको विरोधका कारण ढिलो सुरु भयो। बैठक सुरु भएलगत्तै विपक्षीको नाराबाजीपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गर्दै संवाद थालेका हुन्।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रधानमन्त्रीको स्पष्टीकरण माग गरेका छन्। उनीहरूले प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान लिएका छन्। सभामुख घिमिरेले संसद् सञ्चालनका लागि वातावरण बनाउन प्रधानमन्त्रीलाई जवाफ दिन सूचना पठाउने प्रतिबद्धता जनाएका छन्। उनले दलहरूबीच सहमति कायम गरी बैठक सुचारु गर्न पहल गरिरहेका छन्।




