काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विषयलाई लिएर प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं विचौलियाको हितमा लागेको आरोप लगाए। उनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय फिर्ता हुनुपर्ने माग गर्दै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।
सांसद बस्नेतको भनाइपछि पनि प्रतिपक्षी सांसदहरूले विरोध जारी राखेपछि सभामुख घिमिरेले बैठक ३० मिनेटका लागि स्थगन गरेका छन्।
आजको बैठकको कार्यसूचीमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ र ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लगायतका विषयहरू थिए।




