काठमाडौं। डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकताको प्रक्रिया अघि बढेको छ।
नागरिक उन्मुक्ति पार्टीले तल्लो तहबाट छलफल सुरु गरिसकेको र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच मतान्तर भए पनि एकता प्रक्रियालाई चौधरीले अघि बढाएको स्रोतको दाबी छ ।
एकताको मोडालिटीबारे छलफल
नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज डा। सरोज चौधरीका अनुसार, पार्टीका सबै तहमा राय संकलन गरी केन्द्रमा टुङ्गो लगाइने छ। उनले पार्टीभित्र औपचारिक रूपमा विवाद नरहेको तर एकताको मोडालिटीबारे व्यापक छलफल भइरहेको जानकारी दिए। चैत्र ८ गते बस्ने नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठकले अन्तिम निर्णय लिने बताइएको छ।
जनमत पार्टीको तयारी
यसैबीच, जनमत पार्टीले पनि आन्तरिक छलफल तीव्र बनाएको छ। पार्टीले तीन सदस्यीय कार्यदल गठन गरिसकेको छ, जसमा उपाध्यक्ष अब्दुल खान,प्रवक्ता डा। शरत यादव,नेता बालगोविन्द चौधरीरहेका छन्। कार्यदलका सदस्य बालगोविन्द चौधरीले एकता प्रक्रिया सकारात्मक रूपमा अघि बढेको र छिट्टै टुङ्गो लाग्ने बताएका छन्।
एकतापछि शक्ति सन्तुलन कस्तो हुन्छ ?
दुई पार्टीबीच एकता भएमा, प्रतिनिधि सभामा संयुक्त रूपमा १० सांसद हुनेछन्। जनमत ६ ं नाउपा ४०, प्रदेशसभामा मधेसमा जनमतका १३ सांसद, लुम्बिनीमा ३, सुदूरपश्चिममा नागरिक उन्मुक्तिका ७ सांसद छन्। यस एकताले मधेस, लुम्बिनी र सुदूरपश्चिममा बलियो राजनीतिक शक्ति निर्माण हुने आँकलन गरिएको छ।
तराई–मधेसमा पहिलो शक्ति बन्ने रणनीति
जनमत पार्टीले तराई–मधेसमा पहिलो शक्ति बन्ने उद्देश्यका साथ एकता प्रक्रिया अघि बढाएको बताइएको छ। यदि सहमति जुटेमा, यो एकता मधेस केन्द्रित राजनीतिमा नयाँ मोड ल्याउनेछ। चैत्र ८ गतेपछि यी दुई दलबीचको एकताको स्पष्ट दिशा तय हुने अपेक्षा गरिएको छ।




