काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले पछिल्लो समय पार्टीलाई चलायमान बनाउन र आगामी १५ औँ महाधिवेशन केन्द्रित गतिविधिलाई सक्रियताका साथ अगाडी बढाएका छन् । पार्टीसभापति शेरबहादुर देउवा,उपसभापति पूर्णबहादुर खड्का ,महामन्त्री गगनकुमार थापा, नेता डा. शेखर कोइराला लगायतका पार्टीका नेताहरु यति बेला देश दौडाहामा निस्केका छन् ।
१५औँ महाधिवेशन आउन अझै एक वर्ष बाँकी रहदाँ महामन्त्री थापा र नेता कोइरालाले सभापतिको उमेदवारी दाबी गर्न थालेका छन् । यता संस्थापनपक्षका नेताहरुले पनि सभापति देउवालाई सभापति उमेदवार बनाइदिन लविङ गर्दै दबाब दिन थालेका छन् । यसरी दबबा दिनेहरुको अग्रपंक्तिमा कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला, प्रकाशमान सिंह,विमलेन्द्र निधी लगायत रहेका छन् । आ– आफ्नो पक्षमा माहोल सिर्जना गर्नका लागि नेताहरु गुटगत भेलामा लागेको कांग्रेसका नेताहरुले बताउन थालेका छन् ।
पाटी विद्यान र संवैधानिक व्यावस्थाअनुसार कांग्रेसको १५ औँ महाधिवेशन डेढ वर्ष पछिमात्र गर्ने मनसायमा सभापति देउवा रहेका छन् । सोही कारण सभापति देउवाले अहिलेसम्म आफ्नोतर्फबाट यही नेता सभापतिको उमेदवार हो भनेर मुख नखोलेको बताइन्छ । पार्टीसभापति देउवाले पार्टीको विद्यान र संवैधानिक व्यावस्थाअनुसार महाधिवेशन हुने बताइरहदा कांग्रेस संस्थापनइतर समुहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले भने तोकिएको निर्धारित मिति २०८२ मंशिरमा नै महाधिवेशन गर्न सभापति देउवालाई दबाब दिइरहेका छन् । यसका लागि नेता कोइरालाले कार्यकर्तालाई वडा –वडाबाट दबाब दिन निर्देशन दिएका छन् ।गृटगत भेला गर्नेमा नेता कृष्णप्रसाद सिटौला र डा. शेखर कोइराला अग्र पंक्तिमा रहेका छन् ।
नेता कोइरालाकै सक्रियतामा फाल्गुण २ गते सभापति देउवा निवासमा संस्थापन पक्षीय नेताहरुको भेला भएको थियो । सो भेलामा सभापति देउवालाई १४औँ महाधिवेशनमा निर्वाचित गराउन सक्रिय भूमिका निभाएका सिटौलासहित उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री तथा वर्तमान सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गरेका उपप्रधानमन्त्रीसहित सहरी विकासमन्त्री प्रकाशमान सिंह, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वउपसभापति विजय गच्छदार, नेताहरू बालकृष्ण खाण, एनपी साउद, उमाकान्त चौधरी लगायतका नेताहरुको सभागिता रहेको थियो । सो भेलामा सभापति देउवाले १५ औँ महाधिवेशनका लागि अहिले नै सभापतिको उमेदवार घोषणा गर्ने बेला नआएको बताएपछि आफ्नो समुहलाई सक्रिय बनाइराख्न भन्दै नेता सिटौलाले शनिबार आफूँ पक्षीय नेताहरुको भेला आफ्नै निवासमा राखेका थिए ।
संस्थापन इतरसमुहको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले भने १४ औँ महाधिवशेनमा पराजयसगैँ अब एक पटककालागि कांग्रेसको सभापति प्रतिस्प्रर्धा गर्ने भन्दै विशाल नगरमा कार्यालय नै खोलेर आफ्ना समुहको गतिविधिलाई तिव्रता दिदैँ आएका छन् ।डा. कोइरालालाई १५ औँ महाधिवेशनमा सभापति जिताउनका लागि डा.मीनेन्द्र रिजाल, सहमहामन्त्री जीवन परियार, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी केन्द्रीय सदस्यहरू सरिता प्रसाई, सञ्जय गौतम लगायतका नेताहरु देश दौडाहामा लागेका छन् ।
कांग्रेस कोशी प्रदेश महामन्त्री भूपेन्द्र राईले सिटौला निवासमा भएको छलफल पार्टी र समसामयिक राजनीतिक गतिविधिका बारेमा केन्द्रित भएको बताएका छन् । नेपाली कांग्रेसभित्र भएको गुटगत भेलाले पार्टीलाई जिवन्त राख्न कस्तो भूमिका खेल्ला ? गर्भमैँ रहेपनि नेताहरुलाई आ–आफ्नो गुटको भेला गरी सभापति लगायत अन्य पदको उम्मेदवार घोषणा गर्न भने मद्त मिल्ने भएको छ । नेपाली कांग्रेसले आगामी २०८४ को निर्वाचनमा कोहीसँग गठबन्धन नगरी एक्लै निर्वाचन लड्ने प्रतिवद्धता जाहेर गरेकाले नेताहरु गुटगत भेलामा नलागी संगठन विस्तारमा लाग्दा कांग्रेसको हितमा हुने नेताहरु बताउँछन् ।
यता कांग्रेसको संगठन सुदृढीकरण र १५ औँ महाधिवेशनमा युवाहरुको सक्रियता बढाउने भन्दै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णले (२०६८ देखि २०७३) सम्म नेविसंघको नेतृत्वमा रहेका नेताहरुको पुनर्मिलन कार्यक्रम शुक्रबार र शनिबार नगरकोटमा गरेका थिए । उक्त कार्यक्रममा नेविसंघको व्याकग्राउण्डबाट आएका कांग्रेसका युवा नेताहरूको सक्रिय सहभागीता रहेको थियो ।
भेलामा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य गोविन्द भट्टराईदेखि बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीसहितको सहभागिता रहेको थियो । सहमहामन्त्री राठौर र केन्द्रीय सदस्य भट्टराई नेविसंघका पूर्वअध्यक्ष समेत हुन् ।
भेलामा विधानमा संशोधन गरेर भएपनि वडादेखि केन्द्रीय तहसम्मका पार्टीका हरेक समितिमा ४० वर्ष मुनिको कम्तीमा ३० प्रतिशत सहभागिताको सुनिश्चिता गर्नुपर्ने निष्कर्ष निकालेको भेलामा सहभागि कांग्रेसका एक नेताले जानकारी दिएका छन् । अहिले कुल जनसंख्याको ४२.५ प्रतिशत युवाहरू कांग्रेसमा समाहित रहेको बताइन्छ ।




