देश

आरती बोल्दा माधव नेपालको प्रतिकार, अध्यक्षज्यू भन्नासाथ चुप लाग्नुस् भन्दै जुरुक्कै उठे

ललितपुर। प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा जारी नेकपा एसको दोस्रो केन्द्रीय कमिटी बैठकका क्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल र केन्द्रीय सदस्य आरती लामाबीच मञ्चमै भनाभन भएको छ।

आरतीले आफ्नो बोल्ने पालोमा पार्टीको अन्तरनिर्देशन (अपानि)का आधारमा अनेरास्ववियूको अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएको प्रति आक्रोश व्यक्त गर्दै भनिन्, “मेरो प्रश्न छ, श्रद्धेय अध्यक्ष कमरेड, यो कस्तो विधि हो?”

उनको यो भनाइसँगै अध्यक्ष नेपाल चुप लाग्नका लागि उठेर “तपाईं चूप लाग्नुहोस्” भने। उनले यसपछि महासचिव घनश्याम भुसालसँग मञ्चमा उपस्थित भएका अन्य पदाधिकारीका साथ नेपालीलाई रोक्न प्रयास गरे। तर, अध्यक्ष नेपाल भने आरतीको छेउमा गएर उनकाे प्रतिकार गर्न चाहन्थे।

महासचिव भुसाल र मञ्चका अन्य सदस्यहरूले नेपाललाई रोक्ने प्रयास गरेपछि नेपालले बारम्बार “चूप लाग्नुस्, चूप लाग्नुस्” भनिरहे। आरतीले भने, “मैले बोल्न पाउनुपर्छ,” भन्दै आफूलाई बोल्ने अवसर दिनुपर्ने कुरा उठाइन्।

लामाले पार्टी नेतृत्वको निरंकुशताको शिकार भएको र यो बैठकले उपयुक्त निर्णयसहित आफूलाई न्याय दिनुपर्ने कुरा उठाएकी थिइन्। “हामीले विधिको कुरा गरेका थियौं, त्यसैका लागि विद्रोह गरेका थियौं,” उनले भनिन्, “आज विधि कहाँ गयो? के यही हो विद्रोहको औचित्य?”

अध्यक्ष नेपाललाई अन्य पदाधिकारीहरूले रोक्ने प्रयास गर्दा पनि नेपाल फेरि उठेर प्रतिकार गर्न तम्सिएका थिए। त्यसपछि महासचिव भुसालले लामालाई मञ्चबाट बाहिरिनका लागि इशारा गरे। लामाले भने “मैले बोल्न पाउनैपर्छ” भन्दै मञ्चबाट बाहिरिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *