काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले मुलुक बिस्तारै एमालेकरण भइरहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्।
आज काठमाडौंमा आयोजित नेपाल प्रेस युनियनको शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले अहिलेको सरकारबाट सुशासनको प्रत्याभूति नभएको आरोप लगाए। उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी ल्याइएको सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरे।
“यो विधेयक जस्ताको त्यस्तै पारित भए, अभिव्यक्ति स्वतन्त्रता संकटमा पर्छ। नियमनको नाममा नियन्त्रण गर्न पाइँदैन। यसबारे विस्तृत छलफल गरेरमात्र अघि बढ्नुपर्छ,” उनले भने।
नेता कोइरालाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुको उद्देश्य सुशासन र स्थायित्व कायम गर्नु रहेको स्मरण गराउँदै सरकार संसदलाई बेवास्ता गर्दै अध्यादेश ल्याउने प्रवृत्तिप्रति आपत्ति जनाए।
“हामीले सुशासन दिने सरकार बनाउने भनेका थियौं। तर अहिले सरकारको कार्यशैली अलोकतान्त्रिक बन्दै गएको छ। घुस दिने पक्राउ पर्छ, तर घुस लिने उम्किन्छ। यस्तो सुशासन त अपेक्षित थिएन,” उनले कटाक्ष गरे।
कोइरालाले महान्यायाधिवक्ता रमेश बडालको भूमिकामाथि प्रश्न उठाउँदै राज्यको अधिकार दुरुपयोग भइरहेको दाबी गरे।
उनले कांग्रेस-एमाले संयन्त्र बनाउने योजनाको विरोध गर्दै सत्ता सन्तुलन बिगार्ने प्रयास भैरहेको टिप्पणी गरे। “लोकतन्त्रमा संयन्त्रले शासन गर्ने प्रणाली हुँदैन। विस्तारै मुलुक एमालेकरण हुँदैछ। यसको प्रतिकार गर्नुपर्छ,” कोइरालाले भने।




