देश

कांग्रेस महाधिवेशन चार वर्षमै गर्नुपर्ने अनिवार्यता छैन : प्रवक्ता महत

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने संकेत गरेका छन् । शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीको अधिवेशन निर्धारित समयमा सम्पन्न नहुने सम्भावना रहेको बताएका हुन् ।

सांसद महतका अनुसार महाधिवेशनको तयारी र वर्तमान अवस्थाले समयमै अधिवेशन हुन नसक्ने संकेत गरेको छ । उनले नेपाली काँग्रेसको विधानअनुसार अधिवेशन चार वर्षभित्र सम्पन्न गर्नुपर्ने अनिवार्यता नरहेको र आवश्यक परे डेढ वर्षसम्म थप गर्न सकिने व्यवस्था रहेको जानकारी गराए । कति समय थप्ने भन्ने निर्णय भने केन्द्रीय समितिको बैठकले गर्ने उनको भनाई छ ।

पार्टी नेतृत्वको दौडबारे कुरा गर्दै उनले अहिले नै प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नु उपयुक्त नहुने धारणा राखेका छन् । उनले पार्टी निर्माण, एकता र आन्तरिक सद्भाव वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै भने, ‘अहिले पार्टीलाई बलियो बनाउन, एक(अर्कालाई स्वीकार गर्ने संस्कार विकास गर्न अग्रसर हुनुपर्छ ।’

नेतृत्वका आकांक्षीहरूसँग आफू कुनै कोणबाट कमजोर नरहेको पनि उनले स्पष्ट पारे । महाधिवेशनको सम्भावित मितिबारे बोल्दै उहाँले चार वर्षको कार्यकाल समाप्त हुन अझै एक वर्ष बाँकी रहेको र थप एक वर्षको समय दिने प्रचलन रहेको बताए । विधानमा आवश्यकता अनुसार एक वर्ष र थप ६ महिना अवधि विस्तार गर्न सकिने व्यवस्था भएकाले महाधिवेशन ढिलो हुन सक्ने उनको तर्क छ ।

यस विषयमा केन्द्रीय समितिले अन्तिम निर्णय लिने भए पनि तयारीको अवस्थाले अधिवेशन पर सर्ने सम्भावना प्रबल रहेको बताए । महतले सरकारले प्रस्तुत गरेको विधेयकहरूमध्ये भूमि सम्बन्धी विधेयकमा मात्रै प्रतिपक्षी दलहरूले आपत्ति जनाएको स्पष्ट पारे । उनले सरकार प्रतिष्थापन विधेयकमार्फत उक्त समस्या समाधान गर्न सक्ने धारणा राखे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *